काठमाडौं। हिरासतमा रहेका इनम सापकोटालाई दबाब दिएर राजनीतिक नेतृत्वविरुद्ध बयान दिन लगाउन खोजिएको आरोप लगाउँदै नेपाली कांग्रेसले घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सापकोटामाथि दबाब दिएर आफूअनुकूल बयान गराउन खोजिएको विषय सार्वजनिक हुनु गम्भीर भएको बताएका छन्।
आइतबार सार्वजनिक वक्तव्य जारी गर्दै आङ्देम्बेले हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले नियन्त्रणमा लिएर दुरुपयोग गरेको र तयार पारिएको कागज पढ्न बाध्य पारिएको आरोप उल्लेख गरेका छन्। त्यसो गर्न नमाने फसाइदिने धम्कीसमेत दिइएको भन्दै उनले यसलाई विधिको शासनमाथिको प्रहारका रूपमा व्याख्या गरेका छन्।
सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेख भएका विवरणले गम्भीर प्रश्न उठाएको आङ्देम्बेको भनाइ छ। अनुसन्धानका नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविपरीत हुने उनले बताएका छन्।
उनले सरकारमाथि नै प्रश्न उठाउँदै इनम सापकोटा प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको छ कि नियोजित रूपमा कसैलाई फसाउने प्रयास भइरहेको छ भन्ने स्पष्ट पार्न माग गरेका छन्।
‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ?’ उनले प्रश्न गरेका छन्।
कांग्रेस नेता आङ्देम्बेले अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठ्ने अवस्था आउन नदिन घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन्। सत्ता स्थायी नहुने तर राज्यका संस्थाको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्ने उनको भनाइ छ।
कांग्रेसले घटनामा उठेका सबै आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। आरोपको सत्यतथ्य सार्वजनिक गरी दोषी देखिने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्ने पनि उसको माग छ।
‘लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ,’ आङ्देम्बेले वक्तव्यमा भनेका छन्।
उनले राज्यसत्ता कुनै व्यक्ति वा समूहको निजी प्रतिशोध साँध्ने औजार बन्न नहुने उल्लेख गर्दै सरकार संविधान र विधिको शासनअनुसार चल्नुपर्नेमा जोड दिएका छन्।
प्रमुख प्रतिपक्षी दलले यस प्रकरणलाई नागरिक स्वतन्त्रता, लोकतन्त्र र कानुनी शासनसँग जोड्दै संसदीय छानबिनको माग अघि सारेको हो।












