काठमाडौँ। नेपाली कांग्रेसले सरकारका पछिल्ला कामकारबाहीप्रति गम्भीर असन्तुष्टि जनाउँदै अब सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन र जनजीविकाका सवालमा कमजोर देखिएको निष्कर्ष निकाल्दै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको हो।
कांग्रेसले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको, संवैधानिक निकायमाथि हस्तक्षेपको प्रयास भएको, कानुनको चयनात्मक प्रयोग गरिएको तथा अर्थतन्त्र र जनजीविकाका समस्याप्रति सरकार उदासीन बनेको आरोप लगाएको छ।
बैठकपछि सार्वजनिक निर्णयमा कांग्रेसले सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता कायम रहे पनि गलत निर्णय र गतिविधिविरुद्ध अब अझ दृढ र सशक्त रूपमा उभिने उल्लेख गरेको छ।
कांग्रेसले सरकारलाई संसद् अधिवेशन आह्वान गर्न, प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग सम्बन्धित विषयमा पर्याप्त छलफल नगरी ल्याइएका अध्यादेश फिर्ता लिन र संवैधानिक मर्यादा कायम राख्न माग गरेको छ।
अध्यादेश फिर्ता लिन र संसद् बोलाउन माग
कांग्रेसले वर्तमान सरकार संविधान र त्यही संविधानले स्थापित गरेको संसदीय व्यवस्थाबाट बने पनि संसद् र संसदीय समितिप्रति जवाफदेही हुन नचाहेको आरोप लगाएको छ।
सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको तथा कार्यपालिकाले व्यवस्थापिका, संवैधानिक निकाय र राज्यका विभिन्न अंगमाथि हस्तक्षेप गर्न खोजेको कांग्रेसको ठहर छ।
राष्ट्रपतिजस्तो संवैधानिक संस्थाको समेत अवमूल्यन गर्ने व्यवहार देखिएको भन्दै कांग्रेसले सरकारको कार्यशैलीलाई शासकीय अराजकताको संज्ञा दिएको छ।
कांग्रेसले सरकारलाई प्रश्न गर्दै भनेको छ, ‘यही संविधान र संसदीय व्यवस्थाबाट प्रधानमन्त्री बन्ने तर संविधानले स्थापित गरेका संसद्, राष्ट्रपति, संवैधानिक निकाय र विधि–प्रक्रिया कसैलाई पनि मान्दिनँ भन्ने प्रवृत्तिलाई सरकारले नै संस्थागत गर्ने हो भने भोलि अरू कसैले यही संविधानले स्थापित गरेको प्रधानमन्त्रीको संस्था पनि मान्दिनँ भन्यो भने के हुन्छ?’
राजनीतिक निकटताका आधारमा कानुन प्रयोग भएको आरोप
कांग्रेसले सरकारले कानुनको निष्पक्ष कार्यान्वयनभन्दा राजनीतिक आबद्धता र सरकारसँगको निकटताका आधारमा अनुसन्धान तथा कारबाही अघि बढाएको आरोप पनि लगाएको छ।
कानुनभन्दा माथि कोही नहुने भन्दै कांग्रेसले अपराधमा संलग्न जोसुकैलाई कानुनी प्रक्रियाअनुसार कारबाही गर्नुपर्ने धारणा राखेको छ। तर सरकारको विरोधी भएकै कारण अपराध नगरेका व्यक्तिलाई अनुसन्धानमा तान्नु र सरकार निकट भएकै कारण अपराधमा संलग्न व्यक्तिलाई संरक्षण दिनु राज्यशक्तिको दुरुपयोग भएको उसको भनाइ छ।
सुनकोशी–मरिन आयोजनासँग सम्बन्धित प्रकरण र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणले सरकारको निष्पक्षतामाथि प्रश्न उठाएको कांग्रेसको निष्कर्ष छ।
प्रहरी अनुसन्धानसँग सम्बन्धित प्रमाणमाथि हस्तक्षेप भएको भन्ने आरोप गम्भीर रहेको भन्दै कांग्रेसले यी प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ।
अर्थतन्त्र र जनजीविकाप्रति सरकार उदासीन रहेको निष्कर्ष
कांग्रेसले अर्थतन्त्र र जनजीविकाका समस्या समाधान गर्न सरकारले अपेक्षित गम्भीरता नदेखाएको आरोप लगाएको छ।
आम नागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले भान्सा महँगिएको तथा साना उद्यमी र व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न र बैंकको ऋण तिर्नसमेत कठिनाइ भइरहेको कांग्रेसको भनाइ छ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध भए पनि लगानी विस्तार हुन नसकेको, खराब कर्जाको चिन्ता बढेको र निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको बैठकको निष्कर्ष छ।
त्यस्तै, वैदेशिक रोजगारीमा जाने युवाले भोग्नुपरेका समस्या, सहकारी पीडितको अवस्था, किसानले भोगिरहेको मल तथा बिउको समस्या र कृषि उपजको मूल्य, सार्वजनिक शिक्षा तथा स्वास्थ्यको गुणस्तर र स्वास्थ्य बिमा कार्यक्रमको अवस्थाप्रति पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
कांग्रेसले अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गर्न, समयबद्ध आर्थिक सुधारको कार्ययोजना ल्याउन, पुँजीगत खर्च बढाउन, निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न र महँगी नियन्त्रण गरी नागरिकलाई तत्काल राहत दिन माग गरेको छ।
सरकारले अपराध नियन्त्रणका नाममा तथ्य र प्रमाण जुटाउनुअघि नै पक्राउ गर्ने र थुन्ने प्रवृत्ति देखाएको भन्दै कांग्रेसले यस्तो कार्यशैलीले उद्यमशीलता, लगानी र व्यावसायिक वातावरण प्रभावित हुने चेतावनी दिएको छ।
अध्यादेश फिर्ता लिन, संसद् अधिवेशन बोलाउन र अर्थतन्त्र सुधारको कार्ययोजना ल्याउन माग; भारत भ्रमणमा सीमा विवादले प्राथमिकता नपाएको भन्दै प्रधानमन्त्रीलाई प्रश्नसरकारले कार्यभार सम्हाल्दा सय दिनभित्र सम्पन्न गर्ने भन्दै सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था पनि कांग्रेसले माग गरेको छ।
विभिन्न समुदाय, समूह तथा आन्दोलनरत पक्षसँग भएका सम्झौता र सरकारले गठन गरेका अध्ययन तथा छानबिन समिति एवं आयोगका प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले आग्रह गरेको छ।
भदौ २३ र २४ का घटनासँग सम्बन्धित छानबिन, मानव अधिकार आयोगको प्रतिवेदन र गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदन कहाँ पुगेको छ भन्ने प्रश्न पनि कांग्रेसले उठाएको छ।
सरकारले विभिन्न समुदायसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएको भन्दै कांग्रेसले बाँकी प्रतिबद्धता पूरा गर्ने स्पष्ट समयसीमासहितको कार्ययोजना सार्वजनिक गर्न माग गरेको छ।
प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादले प्राथमिकता पाएन
कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई समग्रमा सकारात्मक माने पनि राष्ट्रिय महत्त्वका केही संवेदनशील विषयले उच्चस्तरीय संवादमा अपेक्षित प्राथमिकता नपाएको टिप्पणी गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा भैरहवा हुँदै सञ्चालन हुने काठमाडौँ–भैरहवा–लखनऊ (बी३४५) हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति, भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग र शिक्षा, प्रविधि, स्टार्टअप तथा जलवायु उत्थानशीलतामा सहकार्य विस्तार गर्ने विषयलाई कांग्रेसले सकारात्मक उपलब्धि मानेको छ।
तर, नेपाल–भारतबीच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादले भ्रमणमा अपेक्षित प्राथमिकता नपाएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको आलोचना गरेको छ।
प्रधानमन्त्री बन्नुअघि र पदमा रहेपछि भारतसँगको सम्बन्ध र विशेषगरी सीमा विवादका विषयमा उत्तेजक अभिव्यक्ति दिने तर कूटनीतिक संवादमार्फत विषय उठाउने अवसर आउँदा त्यसलाई प्राथमिकतामा नराखेको कांग्रेसको आरोप छ।
कांग्रेसले भनेको छ, ‘भ्रमणबाटै सीमासँग सम्बन्धित विषय किन समाधान भएन भन्ने होइन; सीमाको विषयलाई समाधानका लागि आवश्यक उच्चस्तरीय कूटनीतिक संवादलाई किन अपेक्षित प्राथमिकता दिइएन र त्यसलाई अगाडि बढाउने स्पष्ट आधार किन निर्माण गरिएन भन्ने हो।’
संयुक्त वक्तव्य र संयुक्त दूरदृष्टि पत्र जारी हुनुलाई मात्रै उपलब्धिको आधार मान्न नहुने कांग्रेसको भनाइ छ। त्यसमा समेटिएका विषयवस्तु, राष्ट्रिय हितको सम्बोधन र त्यसबाट प्राप्त हुने परिणामका आधारमा भ्रमणको उपलब्धि मूल्यांकन गर्नुपर्ने उसको धारणा छ।
भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँको विकास सहयोगमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको उल्लेख गर्दै कांग्रेसले उक्त रकम कुन परियोजनामा, कुन सर्तमा र कसरी खर्च गरिन्छ भन्ने विषय पारदर्शी बनाउन माग गरेको छ।
त्यस्तै, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्ने समयसीमा सार्वजनिक गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारको आलोचना
कांग्रेसले भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीलगायत बाढी प्रभावित क्षेत्रमा सरकारको पुनर्स्थापना तथा पुनर्निर्माणको काम प्रभावकारी नभएको आरोप लगाएको छ।
भोटेकोशीमा बाढी आएको तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका लागि प्रभावकारी रणनीति तथा कार्ययोजना नआएको कांग्रेसको निष्कर्ष छ।
बाढी प्रभावित नागरिक चिसोमा त्रिपालमुनि बस्न बाध्य रहेको, राहत सामग्री गोदाममा थन्किएको, मृतक तथा बेपत्ताको वास्तविक तथ्यांक संकलन हुन नसकेको र घोषणा गरिएको घरभाडा तथा राहत रकमसमेत पीडितसम्म नपुगेको कांग्रेसले जनाएको छ।
बाढीले प्रभावित साना तथा मझौला व्यवसाय, होटल र जलविद्युत् आयोजनाको पुनर्स्थापनाका लागि समेत सरकारले नीतिगत सहुलियत र राहत कार्यक्रम ल्याउन नसकेको उसको आरोप छ।
कांग्रेसले प्रभावित परिवारलाई सुरक्षित आवास र घरभाडा सहायता तत्काल उपलब्ध गराउन, जोखिमयुक्त बस्तीका नागरिकलाई वैकल्पिक जग्गाको व्यवस्था गर्न तथा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा एकीकृत पुनर्लाभ र पुनर्निर्माणको योजना बनाउन माग गरेको छ।
त्यस्तै, साना ऋणी, विस्थापित नागरिक, जलविद्युत् तथा पर्यटन व्यवसायीलाई राहत, अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने स्पष्ट कार्यक्रम ल्याउन पनि आग्रह गरेको छ।
यसका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित समन्वय तथा सहजीकरण समितिमा बुढीगण्डकी, कालीगण्डकीलगायत प्रभावित क्षेत्रका सांसद, केन्द्रीय सदस्य र विज्ञलाई समेत समावेश गर्ने निर्णय कांग्रेसले गरेको छ।
सुकुम्बासी बस्ती हटाउने सरकारी शैलीको विरोध
कांग्रेसले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दा बल प्रयोगभन्दा कानुनी प्रक्रिया र मानवीय संवेदनशीलतालाई प्राथमिकता दिनुपर्ने निर्णय गरेको छ।
सरकारले पर्याप्त पूर्वतयारी, वैकल्पिक आवास र पुनर्स्थापनाको व्यवस्था नगरी बस्ती हटाएको भन्दै कांग्रेसले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा असहाय नागरिकले भोग्नुपरेको समस्याप्रति आपत्ति जनाएको छ।
सार्वजनिक जग्गाको संरक्षण राज्यको दायित्व भए पनि त्यसका नाममा नागरिकको आवास, जीविकोपार्जन र मानवीय मर्यादालाई बेवास्ता गर्न नहुने कांग्रेसको भनाइ छ।
वास्तविक भूमिहीन र सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत वा व्यावसायिक लाभ लिने व्यक्तिलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उसको धारणा छ।
कांग्रेसले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशको बाटो गलत भएको भन्दै संसद्बाट स्थायी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएको छ। तत्कालीन कृषि तथा प्राकृतिक स्रोत संसदीय समितिबाट अघि बढाइएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ पारित गरेर कार्यान्वयन गर्नुपर्ने उसको माग छ।
पार्टीका आन्तरिक संरचना र लैंगिक समानतासम्बन्धी निर्णय
बैठकले पार्टीको सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ परिमार्जनसहित पारित गरेको छ। पार्टीका कार्यक्रमलाई व्यवस्थित, मर्यादित, मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यले कार्यविधि कार्यान्वयन गर्ने निर्णय गरिएको हो।
त्यस्तै, ‘हामी तयार छौँ’ अभियानको अवधारणापत्र स्वीकृत गरिएको छ।
पार्टीको नाम, लेटरप्याड, झण्डा र चुनाव चिह्न रुख अनधिकृत रूपमा प्रयोग नगर्न पनि कांग्रेसले सम्बन्धित व्यक्ति तथा समूहलाई आग्रह गरेको छ। त्यस्ता गतिविधि जारी राखे पार्टीको विधान र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
बैठकले केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गर्ने अधिकार सभापति गगनकुमार थापालाई प्रत्यायोजन गरेको छ।
यसैगरी, लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान (आईजिइडीएसआई) स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ। प्रतिष्ठानले महिला, बालबालिका, अपांगता भएका व्यक्ति तथा लैंगिक हिंसाबाट प्रभावितहरूको अधिकार, सुरक्षा र न्यायका विषयमा नीति सुझाव, अध्ययन अनुसन्धान तथा पार्टीभित्र समावेशी अभ्यास प्रवर्द्धन गर्नेछ।
कांग्रेसले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई देशका ६ हजार ७४३ वटै वडासम्म पुर्याएर जनचेतना अभिवृद्धि, हिंसा रोकथाम र पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न पार्टीका सबै तहलाई निर्देशनसमेत दिएको छ।












