सर्लाही। छठ पर्व मनाउन घर फर्किने क्रममा मकवानपुरको भीमफेदीमा बिहीबार भएको माइक्रोबस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिकाको एउटा गाउँलाई शोकमा डुबाएको छ। दुर्घटनामा गाउँपालिका–४ सुन्दरपुरका मात्रै १३ जनाको मृत्यु भएपछि गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। दुर्घटनामा १४ जनाकाे ज्यान गएकाे थियाे।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले सूचना जारी गर्दै दुर्घटनामा स्थानीय नागरिकको ज्यान गएको शोकमा गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय र विद्यालयमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाहेक नियमित सेवा सञ्चालन गर्ने कार्यालय तथा सामुदायिक र संस्थागत विद्यालय बन्द रहनेछन्। यद्यपि स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा भने नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएका प्रत्येक परिवारलाई गाउँपालिकाले जनही ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ। गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको उक्त दुर्घटनामा एक गर्भवती महिलासहित सुन्दरपुरका १३ जनाले ज्यान गुमाएका छन्।
छठ पर्व मनाउन घर फर्किंदै गरेका आफन्तको एकैपटक मृत्यु भएपछि सुन्दरपुरमा पर्वको उल्लास शोकमा परिणत भएको छ। घरमा पर्वको तयारी गरिरहेका परिवारले एकै दुर्घटनामा आफन्त गुमाएका छन्। गाउँका धेरै परिवारमा एकैपटक बज्रपात परेको छ।









