काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान हाइस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका छन्। घाइते हुनेमा दुई बालक र तीन पुरुष रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस बिहान करिब ५ः४५ बजे दुर्घटनामा परेको हो।
भीरबाट करिब ५०० मिटर तल खसेको उक्त हाइसमा चालकसहित १५ जना सवार रहेको प्रारम्भिक विवरण छ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि परिचालन भएको छ। उद्धार गरी घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो। घटनास्थलमा थप सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो।
घटनास्थलमा पुगेको उद्धार टोलीले दुर्घटनामा परेका सबै यात्रुको खोजी तथा उद्धार गरेको थियो। घाइतेहरूको उपचार भइरहेको र मृतकहरूको पहिचान खुलाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











