दैलेख। दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
कालिकोटबाट बिरामी लिएर सुर्खेततर्फ जाँदै गरेको जीप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको छ। उनको उपचारका क्रममा बिहान ८ बजेर ५६ मिनेटमा मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहान ५ बजेर ३० मिनेटमा कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा जीप चालक कालिकोट सन्नित्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ।
त्यस्तै सोही गाउँपालिका–७ का १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा पनि गम्भीर घाइते भएका छन्। गंगको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ भने तपेन्द्रको शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुर्घटनामा सन्नित्रिवेणी गाउँपालिका–६ की ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की पनि गम्भीर घाइते भएका छन्। कैसि विषादी सेवन गरेपछि उपचारका लागि लैजाँदै गरिएकी बिरामी हुन्।
दुर्घटनापछि सबै घाइतेको तत्काल उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ।
जीप सडकबाट करिब ३०० मिटर तल खसेकाले दुर्घटनामा ठूलो क्षति भएको हो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











