नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ। आइतबार बिहान दिल्लीका विभिन्न क्षेत्रमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० नाघेको छ। यससँगै राजधानीका धेरैजसो क्षेत्रको वायु गुणस्तर ‘सिभियर’ अर्थात् गम्भीर श्रेणीमा पुगेको छ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) को तथ्यांकअनुसार आइतबार बिहान ८ बजेतिर दिल्लीका विभिन्न स्थानमा एक्यूआई ४२८ देखि ४४३ सम्म पुगेको थियो।
जवाहरलाल नेहरू स्टेडियम क्षेत्रमा ४३१, द्वारका सेक्टर–८ मा ४३८, भारतीय प्रविधि संस्थान (आईआईटी) दिल्ली क्षेत्रमा ४४३ र दिल्ली विश्वविद्यालयको नर्थ क्याम्पसमा ४२८ एक्यूआई मापन गरिएको थियो।
यो स्तरले दिल्लीको वायु प्रदूषण सामान्य मौसमी असहजताभन्दा माथि पुगेर जनस्वास्थ्यका लागि गम्भीर जोखिम सिर्जना गरेको देखाउँछ।
दिपावलीसँगै प्रदूषण थपिने जोखिम
दिल्लीमा प्रदूषण बढिरहेका बेला आइतबार दिपावली पर्व पनि परेको छ। दिपावलीका अवसरमा पटाका पड्काउँदा वायु प्रदूषण थप बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। यसअघि नै वायु प्रदूषण नियन्त्रणका लागि दिल्ली–एनसीआर क्षेत्रमा ग्रेडेड रेस्पोन्स एक्सन प्लान (ग्राप) को तेस्रो चरण लागू गरिएको छ।
भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले नोभेम्बर ६ देखि लागू गरेको तेस्रो चरणअन्तर्गत प्रदूषण नियन्त्रणका थप उपाय अपनाउन निर्देशन दिएको छ। यसमा निर्माण तथा भत्काउने गतिविधिमा कडाइ, सवारीसाधनको आवागमनमा नियन्त्रण र विद्यालयमा अनलाइन कक्षा सञ्चालनजस्ता उपाय समेटिएका छन्।
दिल्लीको वायु प्रदूषण नियन्त्रणका लागि विद्यार्थीलाई घरबाटै पढ्ने व्यवस्था गर्न र कर्मचारीलाई सम्भव भएसम्म घरबाट काम गर्न प्रोत्साहित गरिएको छ।
प्रदूषणको जोखिम दिवालीकै दिनमा मात्र सीमित नरहने पूर्वानुमान गरिएको छ। दिल्लीको वायु गुणस्तर पूर्वचेतावनी प्रणालीले नोभेम्बर ८ र ९ मा पनि वायु गुणस्तर गम्भीर श्रेणीमा रहन सक्ने आकलन गरेको छ।
प्रदूषण बढ्नुका कारण
दिल्लीमा वायु प्रदूषण बढ्नुमा एउटै कारण जिम्मेवार छैन। सवारीसाधनबाट निस्कने धुवाँ, उद्योग तथा निर्माण गतिविधिबाट उत्पन्न धुलो, सडकको धुलो, फोहोर जलाउने गतिविधि र छिमेकी राज्यमा कृषि अवशेष जलाउँदा निस्कने धुवाँले प्रदूषण बढाइरहेका छन्।
जाडो सुरु भएसँगै तापक्रम घट्ने, हावाको गति कम हुने र वायुमण्डलमा प्रदूषित हावा जमेर बस्ने अवस्था सिर्जना हुँदा समस्या थप जटिल बन्ने गरेको छ। यस्तो अवस्थामा प्रदूषक कणहरू वायुमण्डलमा फैलिन नपाई जमिननजिकै थुप्रिन्छन्।
भारतको प्रेस इन्फर्मेसन ब्युरोका अनुसार उत्तर भारतमा मनसुनपछिको समय र जाडोयाममा कम तापक्रम, हावाको कमजोर बहाव तथा वायुमण्डलीय उल्टो अवस्था (इन्भर्सन) ले प्रदूषणलाई जमिननजिकै थुन्ने गर्छ। यसमा पराल तथा कृषि अवशेष जलाउने र पटाका पड्काउने गतिविधिले थप योगदान पुर्याउँछन्।
अन्य सहरको तुलनामा दिल्लीको अवस्था खराब
भारतका अन्य प्रमुख सहरको तुलनामा दिल्लीको वायु गुणस्तर निकै खराब देखिएको छ। आइतबार बिहान ८ बजेको विवरणअनुसार बिहारको राजधानी पटनामा एक्यूआई १७२ र उत्तर प्रदेशको राजधानी लखनउमा २२४ थियो।
त्यस्तै, आर्थिक राजधानी मुम्बईमा १३० र चण्डीगढमा ६७ एक्यूआई मापन गरिएको थियो। यी सहरको तुलनामा दिल्लीका विभिन्न क्षेत्रमा प्रदूषणको स्तर निकै उच्च छ।
बिजनेस स्ट्यान्डर्डका अनुसार आइतबार बिहान ८ बजे दिल्लीको समग्र एक्यूआई ३८३ थियो। समग्र औसत ४०० भन्दा कम भए पनि विभिन्न मापन केन्द्रमा एक्यूआई ४०० नाघेको थियो। जहाँगीरपुरीमा ४५०, पंजाबी बागमा ४४६ र आरके पुरममा ४४८ पुगेको थियो। कति एक्यूआईलाई कस्तो मानिन्छ?
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले वायु गुणस्तरलाई एक्यूआईका आधारमा छ श्रेणीमा वर्गीकरण गरेको छ।
एक्यूआई वायु गुणस्तर
०–५० राम्रो
५१–१०० सन्तोषजनक
१०१–२०० मध्यम
२०१–३०० खराब
३०१–४०० अत्यन्त खराब
४०१–५०० गम्भीर
एक्यूआई ४०१ देखि ५०० सम्म पुग्दा स्वस्थ व्यक्तिको स्वास्थ्यमा समेत असर पर्न सक्छ। श्वासप्रश्वास तथा मुटुसम्बन्धी समस्या भएका व्यक्तिका लागि यस्तो हावा झन् जोखिमपूर्ण हुन्छ।
त्यस्तै, ३०१ देखि ४०० सम्मको प्रदूषणमा लामो समयसम्म रहँदा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने चेतावनी दिइएको छ।










