काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा तीन नेताको उम्मेदवारी परेको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको मनोनयन दर्तामा सभापति पदमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्कीले उम्मेदवारी दिएका हुन्।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापाले मंगलबार साँझ सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। राठौर र खड्कीले पनि सभापतिमा आफ्नो उम्मेदवारी दिएका छन्।
सभापति पदमा तीन जनाको उम्मेदवारी परे पनि कांग्रेसका केही प्रमुख पदमा भने प्रतिस्पर्धा नहुने भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। त्यसैगरी महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेको छ। दुवै पदमा उनीहरू निर्विरोध निर्वाचित भएका छन्।
खुला उपसभापति पदमा भने नौ जनाको उम्मेदवारी परेको छ। डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्।
समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन्।
महामन्त्रीतर्फ पनि प्रतिस्पर्धा हुने भएको छ। खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्।
महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दर्ता गराएका छन्।
यसअनुसार कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ।
राष्ट्रिय सभागृहमा भएको उम्मेदवारी दर्ताका क्रममा निर्वाचन समितिले उम्मेदवारका लागि आवश्यक फारम, प्रस्तावक–समर्थक, उम्मेदवारी शुल्क बुझाएको भौचर तथा महाधिवेशन प्रतिनिधिको प्रमाणपत्रलगायत कागजात अनिवार्य गरेको थियो।
कांग्रेसले १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दैछ। विधान संशोधनपछि यसपटक कांग्रेसको केन्द्रीय कार्यसमिति २५ पदाधिकारीसहित २९७ सदस्यीय हुने भएको छ।












