काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवका सवारी चालक अपहरण, शरीर बन्धक तथा लुटपाट अभियोगमा सोमबार पक्राउ परेका छन्। सप्तरीको महदेवा गाउँपालिका–१ का मुस्तकिम मियाँलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार राजविराज नगरपालिका–८ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मियाँमाथि अनुसन्धान गर्न जिल्ला अदालत सप्तरीले सात दिनको म्याद दिएको सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीले जानकारी दिए।
प्रहरीले मियाँसँगै संलग्न रहेका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जनाएको छ। मन्त्रीका चालक नै यस्तो गम्भीर फौजदारी अपराधमा संलग्न भएको घटना बाहिरिएपछि जिल्लामा यसले विशेष चर्चा पाएको छ। प्रहरीले अपहरण र अपमानजनक व्यवहारसम्बन्धी मुद्दा अन्तर्गत थप प्रमाण संकलन गरिरहेको छ।
प्रहरीका अनुसार मियाँसहितको एउटा समूहले गत ०८२ फागुन १४ गते राजुकुमार चौधरीलाई अपहरण गरी लुटपाट गरेको आरोप छ। पीडित चौधरीका अनुसार सो दिन बिहान करिब ८ बजे राजविराज नगरपालिका–३ स्थित हनुमान चोकमा दुईवटा मोटरसाइकलमा आएका मियाँसहितका व्यक्तिहरूले बन्दुक देखाएर उनलाई नियन्त्रणमा लिएका थिए।
अपहरणकारीले चौधरीलाई राजविराज–८ स्थित हिमालय राइस मिल पछाडिको ुपर्वतु भनिने सुनसान चौरमा लगेर बन्धक बनाई कुटपिट र लुटपाट गरेको उजुरीमा उल्लेख छ। सो घटनामा मियाँले बा ९९ प ५७७५ नम्बरको मोटरसाइकल प्रयोग गरेको देखिएको छ।












