काठमाडौं। आज सोमबार फागुपूर्णिमासँगै लगातार एक साता सार्वजनिक विदा परेको छ। फागु पुर्णिमा, निर्वाचन, महिला दिवस र शनिबारसमेत जोड्दा लगातार सात दिन सार्वजनिक बिदा हुने भएको हो।
निर्वाचनको बिदा सुरु हुनुअघि आज सोमबार र भोलि मंगलबार होली पर्व छ। आज पहाडी जिल्लामा सार्वजनिक बिदा छ भने भोलि तराईका जिल्लामा सार्वजनिक बिदा छ।
त्यसपछि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ। यही फागुन २०, २१ र २२ गते तीन दिन सरकारले निर्वाचन बिदा दिएको छ।
निर्वाचनको बिदा सकिएको भोलिपल्ट फागुन २३ गते शनिबार छ। फागुन २४ गते नारी दिवस छ। त्यो दिन पनि सरकारले सार्बजनिक बिदा दिँदै आएको छ।
यद्यपि, नेपाल राष्ट्र बैंकले भने होली र निर्वाचनका सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।












