काठमाडौं। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर झन्डै साढे तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको छ।
निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना तथा निर्वाचन प्रहरीसहित ३ लाख ४१ हजार १११ सुरक्षाकर्मी परिचालन गरेको निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले बताए।
नेपाल प्रहरीबाट ७५ हजार ७९७, सशस्त्रप्रहरी बलबाट ३४ हजार ५७६, नेपाली सेनाबाट ७९ हजार ७२७, राष्ट्रिय अनुसन्धानबाट १ हजार ९२१ र निर्वाचन प्रहरी बाट १ लाख ४९ हजार ९० जना परिचाल गरिएको छ।
यसपटक चुनावको एक महिना अघि नै सेना परिचालन भएको हो। चुनाव नजिकिँदै जाँदा गृह मन्त्रालयले काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीसमेत चुनावी सुरक्षामा परिचालन गरेको छ।
यसपटक चुनावमा मतपेटिका सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। यसअघिका चुनावमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने गरेकामा यसपटक सेनालाई जिम्मा दिइएको हो।
मतदानस्थलको भित्री सुरक्षा व्यवस्थापन जिम्मा नेपाल प्रहरीलाई छ भने मतदानस्थल वरिपरि निर्वाचन प्रहरीले सहयोग गर्नेछन् । दोस्रो घेराको सुरक्षा प्रबन्धको जिम्मा पाएको सशस्त्र प्रहरी रहनेछ बाहिरी सुरक्षा घेराको जिम्मा सेनाले लिएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार सरकारले बिहीबारबाट मदिरा विक्रीमा रोक लगाइसकेको छ। चुनावको ७२ घन्टाअघि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुनेछ।












