काठमाडौं । म्याग्दी बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्।
सिमेन्ट बोकेर भैरहवाबाट दरवाङ जाँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक फापरखेतको घुमाउरो र साँघुरो सडकबाट बिहान करिब २:३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो। ट्रकसहित चालक पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा म्याग्दी नदीमा खसेका थिए।

प्रहरी निरीक्षक सागर तिमिल्सिना र तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको नेतृत्वमा १३ जनाको प्रहरी टोलीले म्याग्दी नदीको पानीमा खसेको ट्रकभित्र रहेका चालक खाम्चालाई उद्धार गरेको हो। प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार निधारमा चोट र शरीरको विभिन्न भाग ददरीएको अवस्थामा उद्धार गरिएका चालक खाम्चाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार चालकको अवस्था खतरामुक्त छ। नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ। प्रहरीका अनुसार ट्रकमा तीन सय ४० बोरा सिमेन्ट थिए। केही बोरा नदीमा खसेका छन् भने केही बोरा भिरमा अड्किएका छन्।












