काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव प्रस्तुत गरेका छन्। विधान अधिवेशनका लागि तयार गरिएको विधान मस्यौदामार्फत उनले पदाधिकारी संख्या ११ मा सीमित गर्ने प्रस्ताव राखेका हुन्।
पौडेलले प्रस्तुत गरेको नयाँ प्रस्तावअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, अन्य २ उपाध्यक्ष, महासचिव १, उपमहासचिव १ र ५ जना सचिव रहने व्यवस्था प्रस्ताव गरिएको छ।
हाल एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव गरी १८ जना पदाधिकारी रहेका छन्। प्रस्ताव अनुसार हालको पदाधिकारी संख्या घटाएर संरचना सरल बनाउने तयारी गरिएको हो।
यसैगरी, पौडेलले पार्टीको केन्द्रीय कमिटी सदस्य संख्या १९९ राख्ने प्रस्ताव पनि गरेका छन्। वर्तमानमा एमालेको केन्द्रीय कमिटी सदस्य संख्या २२५ भन्दा बढी रहेको छ।
बैठकमा प्रस्तुत मस्यौदामाथि छलफल जारी रहेको र अन्तिम निर्णय विधान अधिवेशनबाट हुने पार्टी स्रोतले जनाएको छ। एमालेले आगामी महाधिवेशनअघि विधानलाई संशोधन गर्दै पार्टी संरचना सुदृढ बनाउने तयारी गरिरहेको छ।












