काठमाडौं। आगामी शुक्रबारदेखि तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।
महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनअनुसार मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै डिप्रेसनका रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ। यसको प्रभावले बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ।
सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा ग्रेगन बहावको जोखिम बढ्ने विभागले जनाएको छ। विशेषगरी सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहनुका साथै ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ।












