काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनको तयारीमा आन्दोलनकारी ढंगले जुट्ने निर्णय गरेको छ। शनिबार ललितपुरमा बसेको पार्टीको केन्द्रीय कमिटी दोस्रो बैठकले उक्त निर्णय गरेको हो।
बैठकले केन्द्रीय सचिवालयले तयार पारेको चुनावसम्बन्धी केन्द्रीय कार्ययोजना स्वीकृत गरेको छ। आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटी बैठकले कार्ययोजनालाई अनुमोदन गरेको बताएका हुन्।
त्यसैगरी बैठकले संशोधित विधानका आधारमा पार्टी नियमावली संशोधन गर्ने निर्णय पनि गरेको छ। महासचिव पोखरेलका अनुसार अब पार्टीका सम्पूर्ण गतिविधि संशोधित विधान–२०८२ अनुरूप सञ्चालन हुनेछन्।
एमालेले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा निर्वाचन केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।












