लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)अध्यक्ष डा हेमराज शर्माले हालै नेपालमा शिक्षामंत्री सस्मित पोखरेललाई भेटेर विदेश पढ्न जाने विद्यार्थीहरुलाई प्रस्थान पूर्वको सूचना, सम्बन्धित मुलुकमा पुगी सके पछि दूतावास लगायत सपोर्ट सिस्टम र नेपाल फर्की सके पछि रोजगार बजारमा जान कसरी सहयोग गर्ने भन्ने बारे छलफल भएको जनाएका छन्।
गैरआवासीय नेपाली संघ यूकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा बेलायतमा नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे छलफल गर्ने उद्देश्यले शुक्रबार आयोजना गरेको ूद प्लगू कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले एकडेमिक क्षेत्रबाट आएकोले विद्यार्थीहरुको समस्याबारे आफु जानकार रहेको बताए। उनले स्वास्थ्य बीमा नभएको मुलुकमा विद्यार्थीहरुलाई बीमा गरेर जाने व्यवस्था गर्न सुझाव दिए।
एनआरएनए केन्द्रीय कार्यालयमा विदेश जानु अघि विद्यार्थीहरुलाई काउन्सिलिंग सुरु गर्ने तयारी भै रहेको र शैक्षिक परामर्शदातृ संस्था नेपाल (इकान)सँग पनि सहकार्य गर्नेबारे छलफल भइरहेको जनाए। उनले १८३ दिन भन्दा बढी विदेशमा बसेका विद्यार्थीहरुलाई पनि एनआरएनएको सदस्यता दिनुपर्ने बताए। उनले एनआरएनएले दूतावास लगायत विभिन्न संघसंस्थाको सहकार्यमा विद्यार्थीहरुलाई करियर फेयर, कानुनी सल्लाह लगायत सहयोग गर्न सकिने जनाए। अध्यक्ष डा शर्माले पहिलो पटक संघका उपाध्यक्षको संयोजकत्वमा विद्यार्थी कल्याण समिति गठन गरिएको पनि जनाए।
भर्चुअल माध्यमबाट सहभागी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले सरकार नेपाली विद्यार्थीहरूको हितमा प्रतिबद्ध रहेको बताए। उनले विदेश अध्ययन प्रक्रियामा ठगी गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिँदै अध्ययनपछि विद्यार्थीहरूले देश फर्केर राष्ट्र निर्माणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।












