काठमाडौं । काठमाडौंको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । इच्छुमती किनारको दायाँबायाँ चार/चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको सवारी ‘जाम’ कम हुने जनाइएको छ ।
काठमाडौं महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ इच्छुमती किनारको दायाँबायाँ चार/चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको जाम कम हुने बताउँछन् ।
काठमाडौं महानगरपालिका–२ मा इच्छुमतीको करिब ६२० मिटर लम्बाई पर्ने उल्लेख गर्दै उनले बहाब क्षेत्र चार मिटर छोडेर दायाँबायाँ चार/चार मिटरको सडक बनाउनुपर्ने स्थानीयवासीको माग रहेको बताए ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि इच्छुमतीको बहाब क्षेत्र चार मिटर र दायाँबायाँ चार/चार मिटरको मापदण्ड तोकेको छ । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटको नीलसरस्वतीस्थान क्षेत्रमा करिब एक सय ५० मिटर सडक रहेको वडा कार्यालयले जनाएको छ । अर्को भागमा केही टहरा भएकाले त्यसलाई भत्काएर सडक खोल्न सकिने उनले जानकारी दिए ।