काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रातमा समेत खेल सञ्चालन गर्न मिल्ने बनाउने उद्देश्यसहित गत फागुनदेखि स्तरोन्नतिको काम सुरु गरिएको हो।
हाल मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानको कार्य तीव्र गतिमा भइरहेको छ। पहिलो चरणअन्तर्गत १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र ६ वटा फ्लडलाइट जडानको काम भइरहेको छ।
प्यारापिटमा पहेंलो, सेतो, खैरो, हरियो, निलो र सुन्तला गरी छ रङका कुर्सी जडान हुनेछन्। पश्चिमतर्फ ६ र पूर्वतर्फ २ गरी कुल ८ खण्डमा विभाजन गरिएको प्यारापिटको प्रत्येक खण्डमा ६५२ वटा कुर्सी राखिनेछ।
प्यारापिट निर्माणको जिम्मा पाएको बिकेओआई–केसिडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३ रुपैयाँमा ठेक्का पाएको हो। त्यस्तै, फ्लडलाइट जडानको काम ललितपुरस्थित विशन–ईश्वरी जोइन्टभेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६५३ रुपैयाँमा लिएको छ।
सरकारले प्यारापिट र फ्लडलाइट निर्माणका लागि दुई कम्पनीसँग क्रमशः पुस १९ र २२ गते सम्झौता गरेको थियो। तर समयमै काम सम्पन्न नभएपछि हाल ठेकेदार कम्पनीलाई दैनिक दुई लाख रुपैयाँ हर्जाना तिराइएको छ।
रंगशालाको स्तरोन्नति सम्पन्न भएपछि कीर्तिपुर मैदानमा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ।





















