काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले यात्रुसँगको व्यवहार सुधार गर्न आफ्ना कर्मचारीका लागि नयाँ नैतिक आचारसंहिता लागू गरेको छ। कार्यालयले यात्रु–मैत्री वातावरण निर्माण गर्न ‘Welcome to Nepal’ र ‘Have a nice journey’ जस्ता सम्मानजनक अभिव्यक्ति अनिवार्य गरेको छ।
प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाको निर्देशनमा लागू गरिएको यो आचारसंहिता अनुसार अब विदेशी पर्यटक तथा स्वदेशी यात्रुलाई इमिग्रेशन काउन्टरमा अभिवादन गर्नैपर्नेछ। नेपाल आउने यात्रुलाई ‘Welcome to Nepal, Have a nice day’ भन्नुपर्नेछ भने नेपाल छोड्ने यात्रुलाई ‘Have a nice journey’ भनी बिदाइ गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्यालयका अनुसार यो पहल अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाहलाई छरितो, पारदर्शी र नतिजामुखी बनाउन गरिएको हो। विशेषगरी खाडी मुलुकतर्फ जाने श्रमिकसँग सम्मानपूर्वक व्यवहार, बोलीमा मिठास र रुखोपन नराख्ने कुरा कडाइका साथ लागू गरिनेछ।
अध्यागमन कार्यालयका अनुसार विमानस्थल देशको मुहार भएकाले कर्मचारीको हाउभाउ र बोलीबाटै नेपालबारे पहिचान बन्ने हुँदा आचारसंहिता आवश्यक भएको हो।
‘एक्जिट सर्भे’ सुरु
यात्रुसँग व्यवहारमा सुधार आएको छ कि छैन भन्ने थाहा पाउन अध्यागमन कार्यालयले यात्रुहरूका लागि ‘एक्जिट–सर्भे’ प्रणाली सुरु गरेको छ। हाल विमानस्थलको १५ वटा डेस्कमा यो सर्भे प्रणाली लागू गरिएको छ, जसअन्तर्गत यात्रुले आफैंले पाएको सेवा कस्तो रह्यो भन्ने बारे तुरुन्त प्रतिक्रिया दिन सक्नेछन्।
विगतमा अध्यागमन कर्मचारीको रुखो व्यवहारप्रति तीव्र आलोचना हुँदै आएकोमा कार्यालयले यो कदमलाई सुधारको दिशामा उठाइएको सकारात्मक प्रयास भनेको छ।
अध्यागमन कार्यालयले सबै कर्मचारीलाई आचारसंहिताको पालना अनिवार्य गराउँदै यसलाई उल्लङ्घन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिएको छ।












