एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मध्यस्थता गरेको युद्धविराम उल्लङ्घन गरेको भन्दै इजरायल र इरान दुवैमाथि आक्रोश व्यक्त गरेका छन्। उनले आक्रोश व्यक्त गर्ने क्रममा अमेरिकी राष्ट्रपतिको पदमा रहेर सायदै कसैले सार्वजनिक रूपमा प्रयोग गर्ने खालको ‘अपशब्द’ समेत प्रयोग गरे।
मंगलबार ह्वाइट हाउसबाट बाहिरिँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुवै देशलाई लक्षित गर्दै भने, ‘हामीसँग दुईवटा यस्ता देश छन् जो यति लामो समयदेखि लडिरहेका छन् कि उनीहरूलाई के गरिरहेछन् भन्ने पनि थाहा छैन।’
उनको यो टिप्पणी अमेरिकी राष्ट्रपतिले बोल्ने सामान्य कूटनीतिक भाषाभन्दा निकै फरक र अभूतपूर्व मानिएको छ। ट्रम्पले विशेषगरी इजरायललाई थप आक्रमण नगर्न र ‘शान्त हुन’ चेतावनी दिएका छन्। उनले भने, ‘इजरायलले, हामीले सम्झौता गर्ने बित्तिकै, यति ठूलो बम खसाल्यो जुन मैले पहिले कहिल्यै देखेको थिइनँ।’
ट्रम्पले मध्यस्थता गरेको युद्धविराम लागू भएलगत्तै इजरायलले आफ्नो हवाई क्षेत्रमा मिसाइल प्रहार गरेको आरोप इरानले लगाएको थियो। इजरायली अर्थमन्त्रीले ‘तेहरान काम्नेछ’ भन्दै बदला लिने चेतावनी दिएका थिए। यता, इरानले भने युद्धविरामपछि कुनै मिसाइल प्रहार नगरेको दाबी गरेको छ।
यद्यपि, उत्तरी इजरायलमा बिहानैदेखि साइरन बजेका थिए र विस्फोटका आवाज सुनिएका थिए। इजरायली सेनाका एक अधिकारीले दुईवटा इरानी मिसाइललाई खसालिएको बताएका छन्।












