काठमाडौं। नेपाल प्रहरी अन्तर्गत ट्राफिक प्रहरी प्रभाग एयरपोर्टमा कार्यरत प्रहरी जवान प्रेम लुहार २०८२ फागुन महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई प्रभावकारी रूपमा कारबाहीको दायरामा ल्याउनुका साथै विभागीय नीति, निर्देशन र आदेशको अक्षरशः पालना गर्दै उनले आफूलाई खटाइएको क्षेत्रमा सवारी आवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन उल्लेखनीय भूमिका खेलेका कारण उक्त सम्मान प्रदान गरिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको ट्राफिक व्यवस्थापनमा सक्रिय रहँदै उनले विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरूको सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण, ट्राफिक नियन्त्रण र परिणाममुखी प्रहरी सेवा प्रवाहमा प्रभावकारी योगदान दिएका छन्।
साथै ट्राफिक सचेतना, सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि तथा गरिब, विपन्न र असहाय नागरिकलाई सहयोग गर्ने कार्यमा समेत उनले उदाहरणीय भूमिका निर्वाह गरेको मूल्यांकन गरिएको छ।
अनुशासित, पारदर्शी र विवादरहित ढंगबाट जिम्मेवारी पूरा गरेको आधारमा उनको कार्यसम्पादन तुलनात्मक रूपमा उत्कृष्ट ठहर गर्दै यो उपाधि प्रदान गरिएको बताइएको छ।












