काठमाडौँ । जेनजी आन्दोलनपछि दसैँमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारको अवसरमा ट्राफिक प्रहरीको सक्रियता उल्लेख्य देखिएको छ। प्रहरीले जनाएको छ कि चाडपर्वको समयमा सुरक्षात्मक कदमले ठूलो दुर्घटना हुनबाट रोकिएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, तिहारको दिन उपत्यकामा सामान्य खालका १६ वटा दुईपाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ। उनले भने, “ट्राफिक प्रहरी प्रमुखसहितको टोली सडकमा खटिएको थियो, जसका कारण मानवीय क्षति हुन पाएन।”
उपत्यकामा १९९ जनालाई मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा कारबाही गरिएको छ भने १५ जना सामान्य घाइते भएका छन्।
प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार, तिहारमा सुरक्षात्मक उपाय कडाइका साथ लागू गरिएको थियो। “सिसी क्यामरा निगरानी बढाइएको थियो र सडकमा ट्राफिक प्रहरीको उल्लेख्य उपस्थिति थियो,” उनले बताए।
भक्तपुर, ललितपुर, नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलङ्की, चाबहिलजस्ता व्यस्त क्षेत्रमा प्रहरीहरूले निरन्तर सवारी व्यवस्थापनमा ध्यान दिएका थिए।
अधिकारिकाे भनाइ अनुसार, “भाइटीकाभन्दा ठूलो हाम्रो कर्तव्य हो, सडकमा खटिनु नै हाम्रो तिहार हो। चाडपर्वका बेला सवारी दुर्घटना र मादक पदार्थ सेवन गरेर सवारी चलाउने घटनाहरू बढी हुने भएकाले सर्तक रहनु आवश्यक छ।”












