काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले अनावश्यक हर्न प्रयोग नगर्न सवारी चालकहरूलाई आग्रह गर्दै उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ। उपत्यकामा लाखौँ सवारी साधन सञ्चालन हुने गरेकोले अनावश्यक हर्न बजाउने प्रवृत्तिले ध्वनी प्रदूषण बढेको भन्दै ट्राफिक प्रहरीले सार्वजनिक सूचना जारी गरी सचेत गराएको हो।
सूचनामा उल्लेख गरिएको छ कि अनावश्यक हर्न बजाउँदा ज्येष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। यसले राजधानीको वातावरणमा नकारात्मक प्रभाव पारिरहेको ट्राफिक प्रहरीको भनाइ छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) (३) बमोजिम ध्वनी प्रदूषण गर्नु गैरकानुनी भएको स्पष्ट गर्दै ट्राफिक प्रहरीले अत्यावश्यक वा विशेष परिस्थितिबाहेक हर्न प्रयोग नगर्न आग्रह गरेको छ। अन्यथा, कानुनी दायरामा ल्याई कारबाही गरिने ट्राफिक प्रहरीको चेतावनी छ।
काठमाडौं उपत्यकामा २०७४ साल वैशाख १ गतेदेखि ‘नो हर्न’ अभियान लागू गरिएको थियो। यस अभियानअन्तर्गत सवारी चालकहरूलाई ट्राफिक सुरक्षासँगै ध्वनी प्रदूषणबाट सर्वसाधारणलाई जोगाउने उद्देश्यले हर्न प्रयोगमा प्रतिबन्ध लगाइएको थियो।
ट्राफिक प्रहरी कार्यालयका अनुसार जनचेतना अभाव, समयप्रतिको दबाब र सडक अनुशासनको कमीले गर्दा अझै पनि धेरै सवारी चालकहरू अनावश्यक रूपमा हर्न प्रयोग गरिरहेका छन्। यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न नागरिक स्तरमा समेत सचेतना आवश्यक रहेको प्रहरीको भनाइ छ। ट्राफिक प्रहरीले ‘नो हर्न’ अभियानलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न नियमित अनुगमन, सचेतना कार्यक्रम र कडाइका साथ कारबाहीलाई निरन्तरता दिने जनाएको छ।












