काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले झिकाएको छ।
उच्च अदालत पाटनका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने तथा सम्बन्धित मिसिल झिकाई राखेर पेश गर्न आदेश दिएको हो।
नेपाली नागरिकलाई भुटानी शरणार्थी भन्दै अमेरिका पठाइदिने प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा रायमाझी हाल पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा थुनामा छन्। जिल्ला अदालतले सुरुमा उनलाई थुनामा पठाउने आदेश दिएको थियो भने सो आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर भएको थियो।
पछि रायमाझीले आफूलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। तर जिल्ला अदालतले सो निवेदन अस्वीकार गरेको थियो।
जिल्ला अदालतको निर्णयविरुद्ध रायमाझीले उच्च अदालत पाटनमा निवेदन दिएका हुन्। सोही निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालतको मिसिल झिकाएर पेश गर्न आदेश दिएको हो।
रायमाझीविरुद्ध ठगी, लिखित कीर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा पठाउने आदेश भएको छ। उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट बाहिरिएका भए पनि पछि आफैं पुनः कारागार फर्किएका थिए।













