काठमाडौं। तिहार नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाले प्लास्टिकका फूलमाला र सजावटका सामग्रीको बिक्रीमा रोक लगाएको छ। महानगरले स्वदेशी किसानले उत्पादन गरेका फूल तथा माला बिक्रीलाई प्राथमिकता दिन व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेको छ।
महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै तिहारमा महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री नगर्न निर्देशन दिएको हो। प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकका फूलमाला वा गुणस्तर मापदण्ड पूरा नगरेका सामग्री बिक्री गरेको पाइएमा जफत गरिने महानगरले चेतावनी दिएको छ।
तिहारमा घर, पसल र सार्वजनिक स्थल सजाउन फूलमाला तथा सजावटका सामग्रीको माग बढ्ने गर्छ। यस्तो समयमा स्वदेशी उत्पादनको प्रयोग बढाउने र नेपाली किसानले उत्पादन गरेका फूलको बजार सुनिश्चित गर्ने उद्देश्यले महानगरले प्लास्टिकका फूलमालाको बिक्रीमा रोक लगाएको हो।
महानगरले व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई स्वदेशी फूल र मालाको बिक्रीवितरण तथा प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको छ।
नेपाली फूल बिक्रीका लागि विभिन्न स्थान तोकिए
प्लास्टिकका फूलमालाको विकल्पका रूपमा नेपाली किसानले उत्पादन गरेका फूल तथा माला सहज रूपमा खरिद गर्न सकिने व्यवस्था मिलाउन महानगर प्रहरी बलले विभिन्न स्थान तोकेको छ। सम्बन्धित निकायसँगको समन्वयमा बिक्रीस्थल निर्धारण गरिएको महानगरले जनाएको छ।
महानगरले नयाँ बानेश्वर, शंखमूल, चाबहिल, तीनकुने, कालीमाटी, कलंकी, माछापोखरी, महाराजगन्ज, गोंगबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायत क्षेत्रमा फूलमाला बिक्रीको व्यवस्था मिलाएको छ।
फूलमाला बिक्रीका लागि तोकिएका प्रमुख स्थान
– नयाँ बानेश्वर: एनबी सेन्टर, आई प्लेक्स मल
– शंखमूल: बिग मार्ट
– मध्य बानेश्वर: सेल्सबेरी
– बत्तीसपुतली: फोनेक्स टावर
– तीनकुने: तीनकुने चौर
– सिफल: सिफल चौर
– चाबहिल: एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार, केएल टावरअगाडि
– स्वयम्भू: धर्मचक्र पार्क
– कालीमाटी: कालीमाटी बैंक्वेट र द्यौखेल
– कलंकी: भाटभटेनी
– नयाँ बजार: भ्याली कोल्ड स्टोर
– माछापोखरी: बुद्ध महल र गुणस्तर खाल्डो
– हाँडीगाउँ: वडा नं. ५ कार्यालयअगाडिको डबली र गणेश मन्दिर डबली
– सामाखुसी: कोइराला स्मार्ट
– महाराजगन्ज: सेल्सबेरी
– गोंगबु, चप्पल कारखाना र बालुवाटार: बिग मार्ट
– कमलादी: आईटी बिल्डिङ
– पुतलीसडक: स्मार्ट स्मल
– अनामनगर: भाटभटेनी
– टेबहाल: मन्दिर परिसर
– सुन्धारा: काठमाडौं मल
– न्युप्लाजा: बज्र कम्प्लेक्सस्थित गुड मार्ट
– *अन्य स्थान: लगन, जैसीदेवल र भृकुटीमण्डप
महानगरले तोकेका स्थानमा नेपाली फूलमाला बिक्री गर्ने व्यवस्था मिलाइएकाले उपभोक्तालाई स्वदेशी उत्पादन खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ।
बिक्रीमा रोक उल्लंघन गरे सामग्री जफत
महानगरपालिकाले प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री नगर्न व्यवसायीलाई सचेत गराएको छ। अनुगमनका क्रममा प्रतिबन्धित सामग्री बिक्री गरेको भेटिएमा त्यस्ता सामग्री जफत गरिने सूचनामा उल्लेख छ।
फूलमाला बिक्रीस्थल तथा व्यवस्थापनसम्बन्धी जानकारी लिन वा सहजीकरण आवश्यक परे महानगर प्रहरी बलको ०१-५९०१७६३, ०१-५९०१७६४ वा मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिने महानगरले जनाएको छ।










