पूर्वी नेपालको ढोकाका रुपमा लिइन्छ इलामको सूर्योदय नगरपालिका । भारतीय सीमा नजिक रहेको यस नगरपालिका कृषि, पशुपालन, पर्यटन, शिक्षा क्षेत्रमा अब्बल छ । अन्तुबाट देखिने सूर्योदयका कारण यसलाई ‘सूर्योदयको जिल्ला’ समेत भनेर चिनिन्छ । चियाको राजधानीका रूपमा रहेको यस नगरपालिका जिल्लाकै बढी चिया उत्पादन हुने क्षेत्र हो । यस नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट विजयी नगरप्रमुख रणबहादुर राईले दोस्रो कार्यकाल बिताइ रहेका छन् ।
दीगो विकासका लक्ष्यलाई स्थानीयकरण
सूर्योदय नगरपालिकाले दीगो विकासका लक्ष्यलाई अगाडि बढाएको छ । नगरपालिकाले स्थानीय तहले बनाएका कानून जस्तै, मध्यमकालीन खर्च संरचना, आवधिक योजना, दिगो विकासका लक्ष्य बीचमा तारतम्य मिलाएको छ । नगरप्रमुख राई सबैभन्दा पहिला नगरपालिकाले दीगो विकासको लक्ष्यलाई मुख्य आधार मानेको बताउँछन् ।

राई भन्छन्,‘दीगो विकासका १७ लक्ष्यमध्ये हामीले शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकतामा राखेका छौं । त्यसमा शिक्षालाई बढी जोड दिएका छौं ।’ महालेखाले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाको बेरुजु ०.५ प्रतिशतभन्दा कम छ । अझलाई शून्यमै झार्ने लक्ष्य रहेको राई बताउँछन् । नगरपालिकाले असल अभ्यास कार्यान्वयन गरिरहेको छ । भौतिक पूर्वाधारतर्फ नगरपालिकाले बाह्रमासे सडकलाई ध्यान दिएको छ भने २८ वर्षे सडक निर्माणको दीगो योजना बनाएर सोही अनुरूप काम गरिरहेको छ । विशेषगरी नगरपालिकाले दीगो विकासको १,२,३,४,५ को लक्ष्यलाई आत्मसाथ गरिरहेको छ ।
अनिवार्य बाल बचत खाता
नगरपालिकाले विद्यार्थीहरुका लागि बाल बचत अभियान अनिवार्य गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्ने अभियान चलाएको छ । मेयरसँग बालबालिका अन्तर्गत कार्यविधि तयार गरिएको छ ।

कार्यविधिमा प्रत्येक विद्यार्थीले अनिवार्य बैंक खाता खोल्नुपर्ने प्रावधान छ । खाता खोलेपछि विद्यार्थीले दैनिक बचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिएको छ । राई भन्छन्,‘यो खाता आधारभूत शिक्षाको लागि मात्र होइन् । उनीहरुले १२ कक्षा पास गरिसकेपछि उच्च शिक्षा हासिल गर्नका लागि पनि हो । यो महत्वपूर्ण कडि, कोसेढुंगाको रुपमा स्थापित हुने विश्वास दिएका छौं । नगरपालिकाले बैंकसँग समन्वय गरिरहेको छ ।’
बैंकसँग समन्वय गरिसकेपछि बैंकले खाता खोल्ने बित्तिकै १०० रुपैयाँ खातामा हाल्दिन्छ । बालबालिकाले जति सक्छन् उसले हाल्दै जान्छन् । त्यसका नगरपालिकाले पनि दैनिक एक रुपैयाँ विद्यार्थीको खातामा जम्मा गरिदिन्छ । नगरपालिकामा एक क्याम्पस, ६३ वटा वटा सामुदायिक, ३० वटा संस्थातग विद्यालय र ५५ वटा बालविकास केन्द्र छन् । १४ महिनामा बालबच्चाहरुको खातामा ८८ लाख भन्दा बढी जम्मा भएको नगरप्रमुख राई बताउँछन् ।
बुहारीलाई उच्च शिक्षा
नगरपालिकाले विवाह गरेर आएका जो १२ कक्षा पास गरेका बुहारी छन् उनीहरुलाई स्नातक पढ्नका लागि छात्रवृत्ति प्रदान गर्ने गरेको छ । ४, ५ वर्षदेखि यो कार्यक्रम सञ्चालन भइरहेको छ । गत वर्ष २५ जनाले स्नातक पास गरेका छन् । यस वर्ष १ सय ५८ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । नगरप्रमुख राई भन्छन्,‘सबैभन्दा पहिला आमा शिक्षित हुनुपर्छ । बालबालिकाले १८ घण्टा आमासँगै बिताउँछन् । आमाले शिक्षा पाउन भनेर नगरपालिकाले यो सोंच ल्याएको हो ।’
स्नातक पास गरिसकेपछि १०० दिनको रोजगारी दिइन्छ । भोली अवसर पाएँ भने कसरी गर्नुपर्छ, के–के गर्नुपर्छ ? भन्ने कुरा १०० दिनमा सिक्ने अवसर पाउने नगरप्रमुख राई बताउँछन् ।
पढ्दै कमाउँदै
नगरपालिकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अगाडि बढाइरहेको छ । यसका लागि कृषि इनोभेसन सेन्टर स्थापना गरिएको छ । कृषिलाई कसरी वैज्ञानिक, प्रविधिमैत्री बनाउने भनेर यहाँ सिकाइन्छ । यहाँ कोलस्टोरदेखि माटोको परीक्षणसम्मको व्यवस्था गरिएको छ ।
नगरप्रमुख राई भन्छन्, ‘अहिले भर्खरै हामीले कार्यविधि तयार गरेका छौं । कार्यविधि हस्तान्तरण गरेको दिनदेखि हाम्रा कृषि प्राविधिकहरुले सेन्टर सञ्चालन गर्नेछन् । बालि विज्ञान पढाइ भएको हुनाले हामीलाई सहज पनि भएको छ ।’

आफु प्रमुख भएर आएसँगै शिक्षामा आमूल परिवर्तन भएको राई बताउँछन् । राई भन्छन्, ‘पहिला ४ वर्ष अघि म आउँदा शिक्षामा ६० प्रतिशत विद्यार्थी संस्थागतमा जान्थे । अहिले उल्टो भएको छ । ६० प्रतिशत सामुदायिकमा, ४० प्रतिशत संस्थागतमा जान्छन् ।’ नगरभित्र प्रध्यापकहरुको मञ्च बनाइएको छ । इनोभेटिभ तरिकाले शिक्षण विधिहरु कसरी अपनाउने भनेर एक÷एक महिनामा प्रत्येक स्कूलहरुमा पुग्छन् । त्यसको सभाध्यक्ष जुन स्कुलको हो, त्यहि स्कुलको हुन्छ । यो क्रमिक रुपमा रनिङ हुन्छ ।
नगरप्रमुख राई भन्छन्,‘हाम्रो १४ वटा माध्यमिक विद्यालय छन् । महिनैभित्रै उहाँहरु विभिन्न ठाउँमा गएर मिटिङ गर्नुहुन्छ ।’
उहाँहरुले गरेको कुराहरु थर्ड पार्टी शिक्षकको विज्ञहरुद्वारा नै निरीक्षण, अनुगमन मूल्यांकन गर्ने गर्दछन् । यो खर्चिलो भएकोले अहिले सफ्टवेयर निर्माण गरिएको छ । नगरप्रमुख राई भन्छन्, ‘त्यो सेल्फ एसिस्टमेन्ट हो, दुई सय भन्दा बढी सूचकहरु छन् । सूचकहरु स्कुलले पूरा गरे/गरेनन् भनेर सेल्फ एसिस्टमेन्ट गरेर हेरिन्छ ।’
अहिले सबै विद्यालयहरुमा इन्टरनेट जडान गरिएको छ । कम्प्युटर छ । नगरले चार करोडमा इनोभेसन सेन्टर बनाउने तयारी गरिरहेको नगरप्रमुख राई बताउँछन् ।
बढ्यो राजश्व
नगरपालिकाले १० करोड बढी राजस्व संकलन गर्न सफल भएको छ । आफु नगरप्रमुखको रुपमा आएसँगै राजश्व पनि बढेको नगरप्रमुख राई बताउँछन् ।
नगरप्रमुख राई भन्छन्, ‘म आउँदा २ करोड ५० लाख आन्तरिक राजस्व थियो । अहिले १० करोड बढी संकलन गरेका छौं ।’ नगरपालिकामा स्वीस सरकारको सबैभन्दा बढी सहयोग रहेको छ ।
अनलाइन सिस्टमतिर
नगरपालिकाका सबै कामहरु अनलाइन सिस्टममा हुने गरेको छ । १० बजेभन्दा १० मिनेट ढिलो आयो भने यो सिस्टमले एसेफ्ट गर्दैन । ५ मिनेट भन्दा अगाडि गयो भने पनि एसेफ्ट गर्दैन ।

नगरप्रमुख राई भन्छन्, ‘हाम्रो यो प्रणालीलाई सिस्टममा लगेका छौं । अफिसमा जति धेरै समय दिनुहुन्छ उति धेरै मोमेन्ट हुन्छ । त्यसकारण हाम्रोमा सेवाग्राहीको भिड कहिल्यै हुँदैन । लाइन लाग्दैन । किनभने हामी सिस्टममा छौं । पाँच वटा समितिलाई एक्टिभ बनाइदिएका छौं । जहाँ– जहाँ जान्छन् पाँच वटा समितिले गएर गर्छन् ।’
स्वास्थ्य क्षेत्र
नगरपालिकाले १४ वटा स्वास्थ्य सेवा भवनहरु निर्माण गरेको छ । सबै अनलाइन सिस्टममा छ । लजिस्टिकको पनि अनलाइन सिस्टम छ ।
नगरप्रमुख राई भन्छन्, ‘म सुरुमा आउँदा थोरै कोटेशनमार्फत धेरै पालिकाले औषधी खरिद गरेको पाएँ । मैले वार्षिक योजना बनाएर अनलाइनबाटै औषधी खरिद गर्ने व्यवस्था मिलाएको छु । तीस लाख छुट्याएको छ भने तीस लाखको अनलाइनबाट खरिद गर्दा ३० लाखको सामान सात लाखमा आउँछ । औषधी त्यहि हो । ३० लाखको सामान अहिले सात लाखमा पाएका छौं ।’
वडाहरुमा लोजेस्टिक सम्बन्धी अनलाइन सिस्टम जडान गरेर मनिटरिङ गरिएको छ । कुनै वडामा सामान बढी भयो भने सिस्टमले नै बढी भएको सामान अन्य वडामा पु¥याउने काम गर्दछ । नगरपालिकाले अपांगता, विपन्नता, एकल महिलाहरुको लागि स्वास्थ्य बीमा समेत गरिदिँएको छ । फिक्कल अस्पतालमा हालै बायो क्यामेस्ट्रिक एनलाइजर मेसिन जडान गरिएको छ । अहिले १५ मिनेटमा ल्यावको रिपोर्ट दिने गरेको नगरप्रमुख राई बताउँछन् ।

नगरपालिका अहिले पोषणमैत्रीमा लागेको छ । नगरप्रमुख राई भन्छन्,‘पोषणमैत्री बनाउन निकै जटिल छ । आगामी दिनमा दक्ष जनशक्ति उत्पादन गर्ने, मानव पुँजीको विकास हुन्छ भन्ने सोचका साथ नगरपालिका लागेको छ । पोषणमैत्रीको सबै प्रोफाइलहरु तयार भएको छ ।’ अहिले नगरपालिकाको बढी ध्यान मानव पुँजी निर्माण, शिक्षा,स्वास्थ्यमा लागेको राई बताउँछन् ।
कृषि उत्पादनमा जोड
पहिला झापा र मोरङबाट पराल खरिद गर्ने गरिन्थ्यो । पछि नगरपालिकाले नेपियर, पुरनेपियर जस्ता घाँसका विरुवा वितरण गर्न शुरु गरेपछि पराल आयत ५० प्रतिशत घटेको छ । अहिले गाईपालन बढी भएको छ । त्यसले गर्दा दुध उत्पादन पनि बढी भएको छ ।
नगरप्रमुख राई भन्छन्,‘हामी दुध प्रतिदिन दुई लाख लिटर उत्पादन गर्ने लक्ष्यमा छौं ।’ सबैभन्दा बढी दच्यु उत्पादन हुने जिल्ला पनि यही रहेको नगरप्रमुख राई बताउँछन् ।
गाईको प्रजनन्का लागि सेक्ससिमेन प्रयोग गरिएको छ । ‘सेक्ससिमेनले ९० प्रतिशत बढी बाच्छिमात्रै जन्मिन्छ । यो इआइ जस्तै हो । यसको कन्सिभ रेट पनि हेर्नुपर्छ । नगरपालिकाले अहिले ५० प्रतिशतमा सेक्सिमेन्ट दिएको छ । यो दिएपछि अहिले ९५ प्रतिशत बाच्छिमात्रै जन्मिएको छ । जसले गोरु कम जन्मियो । ५ प्रतिशत गोरु हाइब्रिट हो’ प्रमुख राई भन्छन्,‘यसले गाई ब्याइसकेपछि पहिलो बेतमै २३ लिटर दुध दिन्छ । सेक्समिनेन्ट पनि धेरै राम्रो गएको छ । पहिला ३४ हजार प्रतिदिन दुध उत्पादन थियो । अहिले ७५ हजार पुगेको छ । दुधको उत्पादन २ लाख पु¥याउने लक्ष्य हो ।’

कृषिमा सफ्वेयर
कृषिको क्षेत्रमा सफ्टवेयर निर्माण गरेको छ । सूर्यादय कृषि डट जिओभी डट एन पी । हजारौं किसानहरुले पाउनुपर्ने सुविधाहरु त्यहिबाट प्राप्त गर्छन् । कृषि शाखा, पशुशाखामा गएपछि किसानहरुले शुन्य कस्टमा प्रस्तावहरु पाँच मिनेटमा तयार गर्न सक्छन् । अनुदानका लागि पनि यही सफ्टवेयरबाटै सबै कुरा थाहा पाउन सकिन्छ ।

नगरप्रमुख राई भन्छन्,‘त्यसलाई हामी इन्टरलिंक गरिराखेका छौं । संघको, प्रदेशमा ज्ञान केन्द्र, यो महिना, यो हप्ता भित्रको वातावरण कस्तो छ ?, मौसम कस्तो हुन्छ ?, सम्पूर्ण कुरा त्यहिबाट थाहा पाउने गरी व्यवस्थापन गरिएको छ । कृषिका सम्पूर्ण कुरा त्यहि आउँछ । जस्तै भकारो सुधारका कार्यक्रमहरु, गोठ सूधारका कार्यक्रमहरु ।’
४ सय बढी किसानलाई अनुदानमा साना खालका मेसिनहरु उपलव्ध गराइएको छ । नगरपालिकाभित्र ५० लाख बढी किलो चिया उत्पादन हुँदै आएको छ भने ६५ वटा भन्दा बढी फ्याक्ट्री छन्। तर यहाँ ५० लाख किलो चिया बेच्न पनि नसकिएको नगरप्रमुख राई बताउँछन् ।

राई भन्छन्,‘त्यसमा संघको कुनै चासो छैन । अन्तर्राष्ट्रिय मार्केट संघले हेर्नुपर्ने हो । मैले श्रीलंकाको राजदूतलाई यहाँ बेलाएर ल्याए । श्रीलंकाले वर्षमा २० करोड केजी चिया बेच्छ । हामीलाई ५० लाख केजी बेच्न गाह्रो भएको छ । दुबईमा डिएमसी भन्ने छ । यसले न आफु उत्पादन गर्छ । तर ७० करोड चिया बिक्री गर्छ । हामी हाइ लेवलको प्रिमियम चिया इन्टरनेशनल मार्केटमा बेच्न सक्छौं । त्यति राम्रो छ । हाम्रो क्वालेटी छ । तर किसानहरुले चियाको मूल्य राम्रो पाएको छैनन् । थुप्रै समस्याहरु छन् ।’
खोरेतमुक्त नगरपालिका घोषणा गरिँदै
सूर्योदय नगरपालिकाले खोरेत नियन्त्रण कार्यक्रम सञ्चालन कार्यविधि –२०७९ मा पारित गरेको छ । व्यापक खोरेत सम्बन्धीको खोप पनि सञ्चालनमा ल्याइसकेको छ ।

तीन वर्ष पूरा हुँदा एउटै पनि खोरेत लक्ष्यको पशु नभेटिएको हुनाले, पशु सेवा विभाग हरिभवन ललितपुर, कोशी प्रदेश खोरेतमुक्तको प्रकृया अगाडि बढाउन सकारात्मक भएका छन् । वल्र्ड एनिमल हेल्थ अर्गनाइजेशनले एमएफडि रेसिडियुस, प्रोटोकल, ल्याब लगायत अन्य कुराको बारेमा चित्त बुझ्दो उत्तर दिएको नगरपालिकाले जनाएको छ ।
सूर्योदय नगरपालिकाको प्रयास सफल भएमा पशुजन्य उत्पादनहरूको बजारीकरण ठूलो मद्दत पुग्ने अपेक्षा राखिएको छ । साथै नगरपालिकाले पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका–२०८० लाई पनि कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
नगरप्रमुख राई भन्छन्,‘चार वर्ष कुनै पनि खोरेत लागेको पशुपन्छी नभेटेको हुनाले पहिला सूर्योदयलाई खोरेतमुक्त नगरपालिका बनाऔं भन्ने छ ।’
सडक र पूर्वाधार
यहाँ विपद वातावरण सम्बन्धी ऐन बनाइएको छ । नगरपालिकाभित्र जहाँ पायो त्यहि बाटो खन्न पाइँदैन । नगरप्रमुख राई भन्छन्,‘२८ वर्षे गुरु योजना बनाएका छौं । नगरपालिको वडालाई दिने सिलिङबाट ५० लाखमा एउटा कार्यक्रम गर्नेपर्छ । त्यसलाई छुट्याउन, सानातिना बनाउन पाइदैन । रोड बनाओस् चाहे कृषिमा लगाओस् । जहाँ हालेपनि ५० लाख एकै पटक हाल्नै पर्छ ।’
पहाडको ठाउँ एक किलोमिटर बाटो बनाउन ७ करोडसम्म लाग्ने गरेको प्रमुख राई बताउँछन् ।
उनी भन्छन्,‘हाम्रो पहाडको ठाउँ क्षेत्रफल २ सय ५२ स्काइर किलोमिटर छ । केही पनि संरचना बनेको छैन । बजेट १ अर्ब ३५ करोड छ । त्यसलाई बैज्ञानिक तरिकाले कसरी गर्न सकिन्छ भन्ने बारेमा बढी भन्दा बढी सहभागीतामा गर्न सकियो भने मात्र हामी सफल हुन्छौं ।’

सम्पूर्ण प्राविधिकहरुले जिआइ राम्रोसँग चलाउने राई बताउँछन् ।‘तालिम दिएका छौं । आरबीएस भइ रहेको छ । प्रत्येक वडामा कहाँ–कहाँ विपद छ, जोखिम छ । हेर्ने र कति खर्च लाग्छ । सबै सिस्टमबाट निकाल्ने गरी काम गरिरहेका छौं । हामीले जति डिजिटलाइजेश गर्न सकिन्छ । हाम्रो क्षमताले भ्याएसम्म, प्राविधिकहरुले भ्याएसम्म, जति छ त्यसैबाट हामीले काम गरेका छौं ।’
नगरपालिकाले वार्षिक रुपमा एक लाख विरुवा रोप्ने गर्दछ । यस वर्ष भने ५१ हजार वटा विरुवा रापेको राई बताउँछन् । नगरपालिकाबाट ५० हजारभन्दा बढी मेट्रिक टन स्कुस भारतमा निर्यात हुने गरेको छ ।
एउटा घर परिवारले ४५ लाख सम्मको स्कुस बेचेको नगरप्रमुख राई बताउँछन् । नगरपालिकाले कार्यपालिका बैठक, नगरसभाको प्रत्यक्ष प्रसारण गर्दै आएको छ । नगरप्रमख राई भन्छन्,‘हामीले प्रत्येक वर्ष कुन–कुन वडाध्यक्ष कति पटक बैठकमा आए भन्ने प्रष्टसँग भन्दिन्छौं ।’
नगरपालिकाले लैंगिक समानताका कार्यक्रमहरुलाई अगाडि बढाएको छ । लैंगिक समानतामा गत वर्ष ६५ भन्दा बढी प्राप्त गरेको छ । लैंगिक समानता प्रदेशकै सबैभन्दा बढी रहेको नगरप्रमुख राई बताउँछन् ।