काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिन प्रमुख बालेन साहलाई चेतावनी दिएकी छन् । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिन बालेनले नगर प्रहरी परिचालन गरेपछि हरेक घटनाक्रबारे आफू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन मेयर साहलाई उनले चेतावनी दिएकी हुन्।
‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनुभएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबिच लडाईँ हुनु पनि राम्रो होइन ।’
महानगरवासीको हित चाहने सबै एकजुट हुनुपर्ने उनले बताइन् । ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’












