काठमाडौं। विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित बैंकको खातामा रहेको विवरण झिकाउन मंगलबार आदेश दिएको छ।
विशेषका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको मंगलबारको इजलासले बैंक खाताको विवरण नेपाल राष्ट्र बैंकमार्फत झिकाउन भनेको हो।
‘प्रतिवादी सुनिल पौडेलका नाममा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको भनिएको बचत तथा मुद्दती खाता सम्बन्धी विवरण र सोमा भएको बचत रकमको विवरण नेपाल राष्ट्र बैंकबाट बैंकिङ प्रक्रियामार्फत सिंगापुरको केन्द्रीय बैंकको सहयोग र समन्वयमा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडबाट यथाशक्य छिटो झिउकान लगाई पेश गर्नू,’ आदेशमा भनिएको छ।
सिंगापुरसँग नेपालको हालसम्म पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता नभएकाले त्यस बमोजिमको विवरण सिंगापुरको बैंकबाट प्राप्त गर्न सकिने वा नसकिनेबारे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट जवाफ मगाउन पनि अदालतको आदेश छ।
उपकरण खरिदमा भ्रष्टाचार आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा चलाएको थियो।












