काठमाडौं । स्पाईनल इन्जरी संघ नेपालको मुख्य आयोजना तथा दर्जन भन्दा बढी संघसंस्थाको सह–आयोजनामा ‘उपयुक्त ह्विलचियर, पहुँचयुक्त नेपाल, स्वतन्त्र गतिशिलता हाम्रो अधिकार’ भन्ने मूल नाराका साथ १७औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस मनाइएको छ ।काठमाडौंको भृकुटीमण्डमा एक कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको हो ।
स्पाईनल इन्जरी संघ नेपालको मुख्य आयोजना तथा दर्जन भन्दा बढी संघसंस्थाको सह–आयोजनामा शनिवार सो दिवस मनाइएको हो । सन २००८ मा बेलायतबाट शुरु भएको ह्विलचियर दिवस नेपालमा भने १ मार्च २०११ देखि मनाइँदै आइएको छ ।
दिवसका अवसरका आयोजित कार्यक्रममा बागमति प्रदेश सभासद लक्ष्मी घिमिरेले ह्विलचियर उत्पादन, उपादेयता, आपूर्ति, गुणस्तर, पहँयुक्ततता बारेको बहस पर्याप्त नभएको बताइन् ।
उनले ह्विलचियर निर्माणको वैज्ञानिकता, आवश्यक संख्या, प्रयोगकर्ताको आवश्यकता अनुरुपको मापदण्डको ह्विलचियर उत्पादन, वितरण तथा ह्विलचियर प्रयोगकर्ताको पनि अन्य नागरिक सरह हरेक क्षेत्रमा विना अवरोध पुग्न पाउने अधिकार छ भन्ने महसुस विशेषत राज्यका नीति निर्माण र क्रियान्वयको तहमा बस्नेले नगरेसम्म दिवसले परिकल्पना गरेको नारा सार्थक हुन नसक्ने बताइन् । सरोकारवालाबीचमा एकताको खाँचो औल्याउँदै ह्विलचियरको आवश्यक्ता, उत्पादन र वितरणबारे सघन रुपमा बहस चलाउन आवश्यक भएको सभासद घिमिरेको धारणा थियो ।
घिमिरेले नीति निर्माणको तहमा समेत अधिकारकर्मीहरुले सार्थक हस्तक्षेप गर्नुपर्ने बताएकी थिइन् । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निर्मला कार्कीले राज्य ह्विलचियर प्रयोगकर्ताको संवेदनशिलतालाई ध्यान दिँदै मन्त्रालयको पहुँचयुक्त परीक्षणको काम शुरु गरेको बताउँदै पहुँचयुक्तता परीक्षणलाई राज्यदेखि नीजि क्षेत्रका हरेक इकाईमा विस्तार गर्दै अपाङ्गतामैत्री पूर्वाधार निर्माण एवं विस्तारलाई अगाडि बढाउन सकेमा दिवसको नाराले सार्थकता प्राप्त गर्ने बताइन् ।

कार्यक्रममा स्पाईनल इन्जरी संघ नेपालका संस्थापक अध्यक्ष कनकमणि दिक्षितले अन्तर्राष्ट्रिय ह्विलचियर दिवसका अवसरमा एक थलोमा जम्मा हुँदै शहीद गेट टुँडिखेल परिक्रमा गरेर राज्यलाई प्रत्येक वर्ष सांकेतिक रुपमा सन्देश प्रदान गर्ने गरेको बताए ।
दीक्षितले नेपालमा पनि ह्विलचियर प्रयोग गर्ने नागरिक छन्, उनीहरुलाई पर्याप्त एवं उपयुक्त ह्विलचियरको खाँचो छ, ह्विलचियर प्रयोग गर्ने नागरिकहरुलाई पनि सार्वजनिक महत्वका कुनै पनि ठाउँहरुमा अन्य नागरिक सरह जाने मौलिक अधिकार छ भन्ने सचेतनाका साथ खवरदारीका लागि पनि यस्ता दिवसीय कार्यक्रमको खास महत्व रहने बताएका थिए ।
प्रत्यक्ष वा परोक्ष रुपमा यस्ता दिवसहरुले सम्बन्धित वर्ग समुदायको बारेमा आम जनसमुदायमा जनचेतना फैलाउन योगदान गरिरहेको हुन्छ । देशभर ह्विलचियर प्रयोगकर्ताहरुको भरपर्दो एकिन तथ्यांक छैन भने राज्यबाट लक्षित विशिष्टिकृत कार्यक्रमहरु तर्जुमा हुन सकिरहेका छैनन ।
न्यूनतम आवश्यकताहरुको पहिचान लागि स्पष्ट नीति नभइसकेको सन्दर्भमा शारीरिक अपाङ्गता भित्र ह्विलचियर प्रयोगकर्ताहरुको विविधता र विशिष्ठिकृत आवश्यकताहरुका बारेमा बहस हुनु आजको आवश्यकता हो ।
१७औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस मनाइरहँदा सामाजिक संरचनाहरु समेत पहुँचयुक्त नहुँदा दैनिक जीवन कष्टकर छ भने गाउँका दुरदराजको अवस्था झनै कठिन छ ।

अपाङ्गता भएका ब्यक्तिका लागि विशिष्ठिकृत व्यवस्थाहरुको कार्यान्वयन नहुँदा ह्विलचियर दिवसको मूल नाराको मर्म पुरा हुन नसकोको सरोकारवालको भनाइ रहँदै आएको छ ।
अपाङ्गता भएका व्यक्तिले प्राप्त गर्ने सेवाहरु जसले उनीहरुको जीवनमा सकरात्मक रुपमा प्रत्यक्ष प्रभाव पार्छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको मर्म अनुसारको अपाङ्गता अधिकार नियमावली, व्यक्तिगत सहयोगी सेवा जस्ता नीति तथा कार्यक्रमका माध्यमबाट राज्य अगाडि बढे मात्र ह्विलचियर दिवसको नाराले सार्थकता पाउने कार्यक्रमका वक्ताहरुको धारणा रहेको थियो ।

कार्यक्रममा ह्विलचियर प्रयोगकर्ता नागरिक, नेपाल सरकारका प्रतिनिधि, ह्विलचियर प्रयोगकर्ताका अभिभावकदेखि अपाङ्गता भएका नागरिकको अधिकार एवं सशक्तिकरणका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
कार्यक्रम स्पाईनल इन्जरी संघ नेपालकी कार्यकारी निर्देशक इशा थापाले संचालन गरेकी थिइन् ।
भृकुटीमण्डपमा छोटो औपचारिक कार्यक्रम पश्चात ह्विलचियर प्रयोगकर्तासहितको र्याली भद्रकाली, शहीदगेट, रत्नपार्क परिक्रमा गर्दै पुनःभकृटीमण्डपमै आएर कायक्रमको औपचारिक समापन भएको थियो ।












