एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक-योललाई प्रहरीले बुधबार (आज) पक्राउ गरेको छ। पक्राउपछि युनले भिडिओ सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको दाबी गरेका छन्।
युन सुक-योलले गत वर्ष डिसेम्बर ३ मा देशमा मार्सल ल अर्थात् सैन्य शासन घोषणा गरेका थिए। संसद्मा चर्को विरोध भएपछि ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका थिए।
स्थानीय सञ्चारमाध्यमले राष्ट्रपति निवासबाट सवारीसाधनको लर्को निस्किएको उल्लेख गरेका छन्। दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले स्थानीय समयानुसार बुधबार बिहान ७:२३ बजे युनविरुद्ध पक्राउ पुर्जी कार्यान्वयन गरिएको जनाएको छ। यसअघि प्रहरी पक्राउ गर्न गए पनि निलम्बित राष्ट्रपति युनले आफ्नो सुरक्षामा खटिएका सैनिक परिचालन गरी रोकेका थिए।
पक्राउ परेका निलम्बित राष्ट्रपति युन सुक-येओलले भिडिओ वक्तव्यमा भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन आफू सहमत भएको बताएका छन्। उनले सन्देशमा भनेका छन्, ‘यो अवैध अनुसन्धान भए पनि मैले सीआईओसमक्ष उपस्थित हुने निर्णय गरेँ। रक्तपात नहोस् भनेर मैले यो निर्णय लिएको हुँ।’ यसको अर्थ यो अनुसन्धानलाई आफूले सही नमानेको जिकिर पनि उनले गरेका छन्।












