काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवसमा यसपालि ‘सुर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाउँ’ भन्ने नारा तय गरिएको छ ।
चुरोट, सुर्ती, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ खाँदा क्यान्सर लगायतका स्वास्थ्य समस्या निम्त्याउने डाक्टरहरु बताउँछन् । क्यान्सरसहित विभिन्न रोगको जोखिमबाट बच्न धूमपान नगर्न तथा सुर्तीजन्य बस्तु नखान डाक्टरको सुझाव छ । नेपालले सुर्तीजन्य वस्तुको नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरेर सदस्य देश बनिसकेको छ ।
पछिल्लो समय सार्वजनिक ठाउँमा धुमपान गर्नेलाई कारबाही गर्ने प्रावधान भए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन भने हुन सकेको छैन ।
हाल मुलुकभित्र सुर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या ३४ प्रतिशतको हाराहारीमा रहेका छन् । विशेषतः युवा वर्गमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो छ ।
सुर्तीजन्य पदार्थको सेवनबाट मुलुकमा प्रतिएक सय बढीको ज्यान जाने गरेको तथ्यांकले देखाउँछ । सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष नेपालमा झण्डै आधा लाख मानिसहरूको ज्यान गइरहेको छ ।
अर्थात् सुर्ती–चुरोटको धुवाँले वर्षेनी अनुमानित ३७ हजार पाँच सय जनाको ज्यान जाने गरेको तथ्यांकले देखाउँछ । यति मात्रै होइन एक खिली चुरोटले मानिसको ११ देखि १३ मिनेटसम्म आयु घटाउने अनुसन्धानबाट देखिएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार धुम्रपानका कारण वार्षिक ८० लाख मानिसको मृत्यु हुन्छ । १३ लाख मानिसले आफूले धुम्रपान नगरे पनि ज्यान गुमाउँछन् ।
‘प्यासिभ स्मोकिङ’ अरूले धुम्रपान गर्दा आएको धुवाँकोे असरका कारण उनीहरूको ज्यान जाने गरेको डब्लयुएचओको रिपोर्टले देखाउँछ ।
सन् २०२२ /०२३ मा सरकारले सुर्तीजन्य पदार्थबाट ३० दशमलव ६१ अर्ब राजस्व संकलन गरेको तथ्यांक छ । सुर्तीजन्य पदार्थको उपभोगबाट लाग्ने रोगको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष खर्च, रोगीको उत्पादकत्व र मृत्युको क्षति समेतलाई हिसाबकिताब गर्दा वार्षिक क्षति ४४ अर्ब हुन आउँछ ।
संकलित राजस्व र क्षतिको हिसाबकिताब गर्दा वार्षिक १३ अर्ब घाटा भएको देखिन्छ । कारण सरकारले सुर्तीजन्य पदार्थमा लिने कम कर हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड तोकेको छ । तर, नेपालमा सुर्तीजज्य पदार्थको खुद्रा मूल्यमा ४१ प्रतिशत मात्र कर लगाइएको छ । जुन अत्यन्तै न्यून हो । दक्षिण एसियाली मुलुकमा सर्वाधिक बिक्री हुने ब्राण्डको खुद्रा मूल्यमा लाग्ने करको तुलनामा नेपालमा लगाइएको करको दर सबैभन्दा न्यून रहेको छ ।
नेपालको कुल राजस्वमा सुर्तीजन्य पदार्थबाट संकलन हुने राजस्वको हिस्सा २ दशमलव ५९ प्रतिशत मात्र रहेको छ । दक्षिण एसियाली मुलुकहरूमध्ये बंगलादेशले सुर्तीजन्य पदार्थबाट ९ दशमलव ५३ प्रतिशत राजस्व आम्दानी गर्छ । श्रीलंकामा ७७ प्रतिशत, बंगलादेशमा ७३ प्रतिशत, पाकिस्तानमा ६० दशमलव ७८ प्रतिशत, भारतमा ५७ दशमलव ६० प्रतिशत अप्रत्यक्ष कर रहेको छ । यसैगरी, उत्तरी छिमेकी मुलुक चीनमा पनि ५५ प्रतिशतभन्दा बढी कर रहेको छ । विगतका आर्थिक वर्षका बजेटमा सुर्तीजन्य पदार्थमा औसत १० प्रतिशतको हाराहारीमा कर वृद्धि भएको थियो । तर, आर्थिक वर्ष २०८०÷०८१ मा ३ प्रतिशत मात्र कर वृद्धि गरिएको थियो ।