काठमाडौं । चितवन सिमलताल पहिरोमा परी बेपत्ता भएका बस र यात्रुको खोजी गर्न सोमबारबाट ‘इकोसाउन्डर डिभाइस’ (सोनार)को प्रयोग गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालको समन्वयमा उक्त प्रविधिको प्रयोग गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोनारले ३०० मिटर गहिराइसम्मको वस्तुको अवस्थाबारे जानकारी दिन सक्छ ।
यही असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा गेग्य्रान बहावमा परी दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेको थियो ।
वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामका यात्रुवाहक बस पहिरोमा परी त्रिशूली नदीमा खसालेको थियो ।
प्राधिकरणका अनुसार सोमबार बिहानसम्ममा बेपत्ता भएका यात्रुमध्ये ११ जनाको शव भेटिएको छ । भेटिएकामध्ये पाँच वटा शवको सनाखत भएको प्राधिकरणले जनाएको छ । ५० जनाभन्दा बढी यात्रु अझै बेपत्ता छन् ।