काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा (रिजल्ट) बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए।
कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनले बताए।
उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताए। उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भई कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए।
कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो।
परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए।