काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम शुरु भएको छ । अस्पतालका निर्देशक डा.दिनेश काफ्लेका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् ।
डा. काफ्लेका अनुसार पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका छन् । उनका अनुसार एक वटा शवलाई पोस्टमार्टम गर्नका लागि चार घन्टाभन्दा बढी समय लाग्छ ।
जलेर मृत्यु भएका कारण शवहरुको पोष्टमार्टम दिनमा मात्रै गर्न सकिने उनले बताए । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज विमानस्थल परिसरमै दुर्घटनाग्रस्त हुँदा १८ जनाको ज्यान गएको छ भने विमान चालकको उद्धार गरी उपचार भइरहेको छ ।