काठमाडौं । भारतको सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार भएको त्रिदेशीय महिला फुटबल प्रतियोगितामा नेपालले भारतलाई २-१ ले पराजित गरेको छ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले दुवै गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। खेलको दोस्रो मिनेटमै साम्बाले प्रारम्भिक अग्रता दिलाएकी थिइन्। त्यसपछि खेलको २२औँ मिनेटमा प्रीति राई र ४३औँ मिनेटमा साम्बाकै अर्को अवसर गोलमा परिणत हुन सकेको थिएन।
तर ६३औँ मिनेटमा साम्बाले फेरि चम्किँदै दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। खेलको ८१औँ मिनेटमा भारतले एक गोल फर्काए पनि अन्ततः नेपालले २–१ को जित सुनिश्चित गर्यो।
यो जितसँगै नेपालको प्रदर्शन झनै उत्साहजनक बनेको छ। प्रतियोगितामा भने इरान पहिले नै च्याम्पियन बनिसकेको छ। इरानले नेपाललाई ३-० र भारतलाई २-० ले हराएको थियो।
एक वर्षअघि काठमाडौंमा सम्पन्न साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पनि नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको थियो। यो जित त्यसको पुनः पुष्टि बनेको छ कि नेपाली महिला फुटबल टोली अब दक्षिण एसियामा सबल दावेदारको रूपमा स्थापित हुँदैछ।












