रुपा थापा
आदिम युगको
कुनै कालखण्डमा
पृथ्वीको गर्भ गृहमा
सुटुक्क चिहाएकाे थियो
कुनै भ्रूण मस्तिष्कले
र समाएर कुनै आदिम वृक्षका हाँगा
हुर्किएका थिय
उस्का आदिम खोपडी।
जसले मन्थन गर्दै
पृथ्वीको गर्भगृहबाट
निकालिरहयो अमूल्य खनिज पदार्थहरू
र हावाका प्रत्येक झोकामा
घोलिरह्येा कालकूट नामक
विषादीयुक्त रसायनका गन्धहरू।
तिनैले सुनाइरहन्छन्
काल्पनिक स्वर्गका कथा
र क्षेप्यास्त्रले घायल पृथ्वीलाई
बाध्य पार्दैछन
समाधि लिन महासागरमा ।
प्रश्न छ जीवात्माहरूकाे
गर्भावस्थाको तस्वीरमा
आफ्ना हातका प्रेमील स्पर्षले
नव रत्नलाई स्वागत गर्न आतुर
ति अैालाहरू किन तयार छैनन्
जोगाउन हरितगृहलाई ।
ति मस्तिष्कहरू
आणविक भट्टीको होडबाजीमा
खल्बलाएर प्रकृतिकाे मथिङ्गल
खन्दैछन् आफ्नै सन्ततिका सामूहिक चिहान ।
काल्पनिक नर्कको कथा सुनाइरहने
ति डरलाग्दा गिदीहरू
तयार गर्दैछन् वास्तविक नर्क
जहाँ भक भक गर्दै उम्लिरहेछ
सिङ्गो धर्ती
तातो तेलको कराहीमा।
चेतावनी स्वरूप मेघ गर्जिँदै भनिरहन्छ
हरितगृहकाे पिँजडामा
बन्द छ तिम्रो एक मुठ्ठी श्वास
सामूहिक चिहान नबन्दै
पृथ्वीमा आदिम सभ्यताका
ओ नव विज्ञान
जोगाउनु हरियालीलाई
रेडपान्डाका सन्ततिलाई
अझै यहीँ धर्तीमा स्वागत गर्नुछ
हिमालसँगै ब्युँझिने हिउँचितुवाका आँखालाई
हिउँसँगै रम्नु छ ।