लक्ष्मण सिटौला
जिन्दगी सँगै बिताउनु प्रेम होइन
एउटै बिछ्याउनामा निदाउनु प्रेम होइन
एकै सिरानीमा आँसु झार्नु पनि प्रेम होइन्
सँगै हिँड्नु र कर्तव्य निभाउनु पनि प्रेम होइन्
सँगै मन्दिर जानू
सँगै प्रार्थना गर्नु प्रेम होइन
अध्यारोमा हात समातेर
बाटो देखाउनु प्रेम होइन
प्रेम हुनुलाई
मनसँग मन मिसिनुपर्छ
प्रेम हुनुलाई
दुई आँखा तर दृष्ट्रि एक हुनुपर्छ
प्रेम हुनुलाई मनको रिदम मिल्नुपर्छ
प्रेमको पुलकिता अर्कै चिज हो
प्रेमको सुगन्ध अर्कै चिज हो
प्रेमको सङ्गीत अर्कै चिज हो
प्रेमको निर्मलता अर्कै चिज हो
पुरुष आफुलाई मालिक हुँ भन्छ
स्त्री आफुलाई दासी हुँ भन्छिन्
दासी र स्वामी बिच पनि प्रेम हुन्छ र ?
प्रेमले त दासी र स्वामी भनेर पनि चिन्दैन
र होइदिन्छ अन्जानमै प्रेम
प्रेम त नदी छेउमा निरन्तर उभिएर
प्रार्थना गरिरहेको शान्त किनारा हो
नदी सागर पुगिसकेकी हुन्छिन्
बिचरो किनार त्यही हुन्छ चुपचाप !!
मायाले निथ्रुक्क भिजिरहेको हुन्छ
छेउमा नै छिन नदी !
तर किनारा प्यासी छ अनन्तदेखि
निरन्तर प्रेमको
नदीलाई सुरक्षा दिइरहेको हुन्छ
स्त्री नदी हुन, किनार पुरुष हुन
तर पनि प्रेमको धारा बगिरहेकै छ
छोएर बगिरहेको किनार कालीगण्डकी
नलाएर पनि लाइरहे जस्तो
नगाएर पनि गाइरहे जस्तो
नहिँडेर पनि हिँडिरहे जस्तो
नछोएर पनि छोइरहे जस्तो
नबोलेर पनि बोलिरहे जस्तो
प्रेम त यस्तो पो,
नदी र किनारा जस्तो
फूल र पात जस्तो
जुन र रात जस्तो
सँगै-सँगै तर अलग
फेरि पनि खुसी देखिने
नदीको रक्षार्थ उभिएको
एउटा अपलक किनार–
नदीको छेउ हो प्रेम
प्रार्थना जस्तै–
नपाएर पनि केही पाइरहे जस्तो !!