ललितपुर । ललितपुरको कुपण्डोलमा अवस्थित आरुष लाइफ स्टाइल हस्पिटल र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान बीचमा दुई वर्षका लागि स्वास्थ्य सेवाका सन्दर्भमा सम्झौता भएको छ ।
रोटरियनहरुलाई हस्पिटलमा उपलब्ध सबैखाले सेवामा २५ प्रतिशतसम्म छुट हुने सम्झौतामा उल्लेख छ । बुधबार हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्य, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु, अन्य अधिकारी र रोटरी क्लब अफ पाटन इष्टका पदाधिकारीहरुको उपस्थितिमा सो सम्झौता भएको हो ।
अस्पतालका सिइओ डा. शाक्य रोटरी क्लब अफ यलाका सदस्य समेत हुन् । रोटरियनलाई स्वास्थ्य सेवामा प्रदान गरिने छुट एवम् स्वास्थ्य सम्बन्धी अन्य सम्भावित सहकार्यका सम्भावनाबारे सम्झौताको परिकल्पना तथा पहलकदमी भने रोटरी क्लब पाटन इष्टले गरेको हो । रोटरियनहरुले अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवामा छुटका लागि रोटरीको आफ्नो सदस्यता नम्बर प्रदान गर्नुपर्नेछ ।
यसका अतिरिक्त रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान र अस्पतालका बीचमा स्वास्थ्यका विविध विधामा स्वास्थ्य शिविर आयोजनादेखि स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रममा सहकार्य गर्न सकिने समेत सम्झौतामा उल्लेख गरिएको छ ।