काठमाडौं । बाराको गढिमाई मेलाबाट सिराहा फर्किंदै गरेका यात्रु सवार स्कार्पिओ रौतहटमा दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँचजना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ४ स्थित धन्सार-लमाहा सडक खण्डमा गएराति सवार १ बजे बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो।
दुर्घटनामा ज्यान गुमाउनेमा सिराहाको अर्नामा गाउँपालिका- ३ बंठियाटोल बस्ने वर्ष ६० कि लरुवतीदेवी महरा, सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवि महरा, ६२ वर्षीया फूलमन्तीदेवी चमार, ६० वर्षीया रामकुमारिदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र अर्नामा ५ बलुवाटोल घर भएका स्कार्पिओ चालक ४० वर्षीय श्रीकुमार यादव छन्।
दुर्घटनामा सिराहाको अर्नामा ३ कै ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन राम, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन्।
केही घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। धेरैले घटनास्थलमै ज्यान गुमाएका हुन्। गम्भीर अवस्थाका एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ। मृतकको शव अहिले चन्द्रपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको छ।