काठमाडौं । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले असारका लागि ब्याजदर घटाएका छन् । विदेशी मुद्रा सञ्चिति सहज भैइ बैंकिङ प्रणालीमा तरलता बढेसँगै बैंकहरूले निक्षेपको ब्याज घटाइरहेका छ्न्। जसले गर्दा कर्जाको ब्याजदर विगत २८ महिनायताकै न्यूनतम बिन्दु १०.३४ प्रतिशत कायम भएको छ।
असार महिनाका लागि ब्याजदर घोषण गरेका अधिकांश बैंकले घटाएर निक्षेपको ब्याजदर सार्वजनिक गरेका छ्न्। असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले दिने भएको छ। यस बैंकले जेठको तुलनामा अधिकतम ब्याजदर बढाउँदै असारका लागि ८.२५ प्रतिशत तोकेको छ।
जेठको तुलनामा ब्याजदर घटाएको एनआईसी एसिया बैंकले ब्यक्तिगत मुद्दतीका लागि सबैभन्दा धेरै ७.६९ प्रतिशत ब्याज दिने भएको छ।
एनआईसीसँगै एनएमबि बैंकले पनि व्यक्तिगत मुद्दतीमा अधिकतम ७.६९ प्रतिशत ब्याजदर घोषणा गरेको छ। नबिल बैंकले जेठको अधिकतम ब्याजदर ६.७५ प्रतिशतबाट बढाएर असारमा ७ प्रतिशत कायम गरेको छ।
स्ट्यान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंकले जेठको व्यक्तिगत मुद्दतीतर्फको अधिकतम ब्याजदर ७ प्रतिशतलाई नै निरन्तरता दिएका छ्न्।
प्रभु बैंकले अधिकतम जेठकै ब्याजदर ७.५ प्रतिशतलाई असारमा पनि निरन्तरता दिएको छ। माछापुच्छ्रे बैंकले जेठको तुलनामा ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाउँदै ७.५० प्रतिशत कायम गरेको छ।
नेपाल बैंकले जेठ महिनाकै ६.७५ प्रतिशतको ब्याजदरलाई असार पनि निरन्तरता दिएको छ। कृषि विकास बैंकले सबैभन्दा कम साधारण मुद्दती निक्षेपमा ५.६६ प्रतिशत ब्याज दिने भएको हो।
उक्त ब्याजदर यस बैंकले जेठ महिनामा नै तोकेको थियो। एभरेष्ट बैंकले अधिकतम मुद्दती निक्षेपको ब्याजदर ६.५ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६.४ प्रतिशतबाट घटाएर ६.२२ प्रतिशत, नेपाल एसबिआई बैंकले ६.३९ प्रतिशतबाट घटाएर ६.३ प्रतिशत, ग्लोबल आइएमई बैंकले ७.५ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ७ प्रतिशतबाट घटाएर ६.७५ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशतबाट घटाएर ६.७६ प्रतिशत र सिटिजन्स इन्टरनेशनल बैंकले ७ प्रतिशतबाट घटाएर ६.९ प्रतिशत कायम गरेको छ।
राष्ट्र बैंकले साधारण मुद्दती निक्षेपको तुलनामा १ प्रतिशत बिन्दुले कम ब्याजदर संस्थागत मुद्दती निक्षेपकर्तालाई दिनुपर्ने व्यवस्था गरेको छ।
बैंकहरूले व्यक्तिगत मुद्दती खातामा तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)
बैंक | जेठ २०८१ | असार २०८१ |
कृषि विकास | ५.६६६१ | ५.६६६१ |
एभरेस्ट | ६.५ | ५.७५ |
राष्ट्रिय वाणिज्य | ६.४ | ६.२२ |
एसबीआई | ६.३९ | ६.३० |
लक्ष्मी सनराइज | ७ | ६.५ |
ग्लोबल आईएमई | ७.५ | ६.५ |
कुमारी | ७.२६ | ६.५६ |
प्राइम | ७ | ६.७५ |
नेपाल | ६.७५ | ६.७५ |
सानिमा | ६.९ | ६.८ |
सिटिजन्स बैंक | ७ | ६.९ |
नबिल बैंक | ६.७५ | ७ |
इन्भेस्टमेन्ट मेगा | ७ | ७ |
सिद्धार्थ | ७ | ७ |
स्ट्यान्डर्ड चार्टर्ड | ७ | ७ |
माछापुच्छ्रे | ७.२६ | ७.५ |
प्रभु | ७.५ | ७.५ |
एनएमबी | ७.८ | ७.६९ |
एनआईसी एसिया | ७.८ | ७.६९ |
हिमालयन | ७.५ | ८.२५ |