काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ३८९ जनाको ज्यान गएको पुष्टि भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बाढी प्रभावित क्षेत्र तथा तल्लो तटीय क्षेत्रहरूबाट ३८९ जनाको शव फेला पारिएको छ।
बाढी र पहिरोका कारण २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। खोज, उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा ४ हजार ३ सय ४८ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार बाढीका कारण प्रभावित ४६६ जनाको सफल उद्धार गरिएको छ तथा घाइतेहरूको उपचार भइरहेको छ।
बाढीले बगाएर ल्याएका शवहरू विभिन्न जिल्लामा फेला परेका छन्। प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी चितवनमा १३७ जना र नवलपरासी (पूर्व) मा ८७ जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, नवलपरासी (पश्चिम)मा २७ र रसुवामा १७ काे शव फेला परेकाे छ।
रसुवामा ठूलो संख्यामा उद्धार
उद्धार कार्यतर्फ भने मुख्य प्रभावित क्षेत्र रसुवामा सबैभन्दा धेरै २८९ जनाको उद्धार गरिएको छ। यसैगरी नुवाकोटबाट ९० जना, काठमाडौँबाट ८४ जना र धादिङबाट ३ जना घाइते तथा प्रभावितहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ।












