काठमाडौं । थाई एयरवेजका तर्फबाट सो एयरलाइन्सको जि.एस.ए. सोसाईटी ईन्टरनेशनल ट्राभल्सद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
“जीवनको उपहार दिऔं” भन्ने मुल नारासहित काठमाडौंको हात्तीसारमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम बिहान १० बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो ।
मानव सेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरिएको सोसाईटी ईन्टरनेशनल ट्राभल्सले जनाएको छ । आपतकालीन अवस्थामा रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पु¥याउनु र समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु कम्पनीको प्रमुख उद्देश्य र दायित्व हो ।
थाई एयरवेजले सबैलाई रक्तदानमा सहभागी भई जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेको थियो । “तपाईंको सानो योगदानले कसैको जीवन बच्न सक्छ,’’ थाई एयरवेजले भनेको छ ।
उक्त कार्यक्रममा सोसाईटी ईन्टरनेशनल परिवार, विभिन्न ट्राभल एजेन्सी तथा सेवाग्राहीहरू गरेर १ सय ३१ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो ।
उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरुप प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।












