काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै हिजो देश नबनेको चिन्ता रहेको र आज देश नै नरहने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्।
राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार जारी गरिएको भिडियो सन्देशमा उनले आफू नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले भोगिरहेको संकटले चिन्तित तुल्याएको उल्लेख गरेका छन्।
‘नारायणहिटी दरबारबाट हामी बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ उनले भने।
पूर्वराजा शाहले भाषण, जादू र चमत्कारले देश नबन्ने भन्दै सबै नेपालीले कर्तव्यबोधका साथ ‘पृथ्वीपथ’मा लाग्न आह्वान गरेका छन्।
‘भाषण अनि जादू–चमत्कारले यो देश बनेको होइन, र बन्दैन पनि। सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन,’ उनले भने।
झण्डै दुई दशकअघि शान्ति, आर्थिक प्रगति र स्थायित्व दिने आश्वासनसहित सत्तामा पुगेका दलहरूको चाहनाअनुसार आफूले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाई सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको उनले बताए।
सन्देशमा उनले पृथ्वीनारायण शाहले २२ वर्षको उमेरमै सुरु गरेको एकीकरण अभियान सफल भएपछि आधुनिक नेपाललाई चार वर्ण र ३६ जातको साझा फुलबारीका रूपमा चित्रण गरेको स्मरण गराएका छन्।
सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने दोहोर्याउँदै उनले राष्ट्रिय एकता, कर्तव्यबोध र साझा दायित्वमा जोड दिएका छन्।












