काठमाडौं । ब्याडमिन्टनमा पहिलो ओलम्पियन बनेका नेपालका प्रिन्स दाहाल ओलम्पिकको तयारीमा छन् । अहिले उनी श्रीलंकामा राइजिङ स्टार ब्याडमिन्टन एकेडेमीमा तालिम लिइरहेका छन् । उनलाई प्रशिक्षक टोनी वाहुदीले प्रशिक्षण दिइ रहेका छन् ।
उनी ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी पनि हुन् । उनलाई आरएसबीएले ‘किटिङ‘का लागि प्रायोजन गरेको छ । पेरिसमा हुने ओलम्पिकमा ब्याडमिन्टनका १ सय ७२ खेलाडी भिड्ने छन् ।
त्यसमध्ये एक हुन् प्रिन्स । उनी युनिभर्सालिटी कोटाबाट छनोट भएका हुन् । दार्चुलाका प्रिन्सले ६–७ वर्षको उमेरदेखि नै ब्याडमिन्टन खेल्न शुरु गरेका थिए । १५ वर्षको उमेरमा उनले दुबई इन्टरनेसनल सिरिजको उपाधि जितेका थिए । त्यो अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता थियो ।
पेरिसमा हुने प्रतियोगितामा उनी नेपाली ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने प्रिन्स पहिलो खेलाडी बन्ने छन् । यसअघि जुनियर खेलाडीको विश्व वरीयतामा उनी शीर्षमा पुगेका थिए ।
उनले १५ वर्षकै उमेरमा दुबई इन्टरनेसनल सिरिजको उपाधि जितेका थिए । त्यो अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता थियो । त्यसपछि त उनले एकपछि अर्को उपाधि जितिरहे । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनले दुई कांस्य पदक जितेका थिए अनि चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा पनि नेपालको चुनौती पेस गरेका थिए, त्यहाँ उनी अन्तिम ३२ सम्म पुगे ।
प्रिन्स पेरिस यात्रालाई अझ सम्झनलायक बनाउन चाहन्छन् । उनले भनेका छन्, ‘ओलम्पिक सहभागितालाई अझ धेरै स्मरणीय बनाउने प्रयास गर्नेछु । त्यसका लागि धेरै मिहिनेत गरिरहेको छु ।’ २० वर्षीय दाहाल ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी पनि हुन् ।