धनगढी। सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा लगातार बैठकमा अनुपस्थित भएपछि मंगलबार पदमुक्त भएका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२) बाट नेपाली कांग्रेसबाट निर्वाचित देउवा हाल अमेरिकामा छन्। प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले स्वीकृत गरेपछि उनको पद रिक्त भएको हो।
सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार देउवा पूर्वसूचना नदिई लगातार २५ वटा बैठकमा अनुपस्थित भएका थिए। संविधान तथा प्रदेशसभा नियमावलीको व्यवस्थाअनुसार उनको पद रिक्त गरिएको हो। सभामुखले बुधबार प्रदेशसभा बैठकमा औपचारिक जानकारी गराउने र त्यसपछि राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आयोगलाई जानकारी गराउने तयारी छ।
गत वर्ष भदौ २८ गतेको जेनजी आन्दोलनपछि व्यक्तिगत कामका लागि अमेरिका गएका देउवाले स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा रहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएका थिए। तर, त्यसयता उनी नेपाल फर्किएका छैनन्।
सचिवालयका अनुसार पछिल्लो ११ महिनामा देउवाले पारिश्रमिक तथा विभिन्न सेवासुविधाबापत ७ लाख ५३ हजार ५ सय रुपैयाँ बुझेका छन्। उनी नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका सहोदर भतिजा हुन्।












