काठमाडौं । वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकायले सतर्कता अपनाएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए ।
उनले वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए ।
उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए ।