काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिका लागेका हुन्।
कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्नेछन्। प्रधानमन्त्री दोहाबाट बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्।
उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन्।
सोही दिन सम्माननीय प्रधानमन्त्री शाहज्यू संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन्। त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नेछन्। त्यसलगत्तै प्रधानमन्त्री शाहको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरुले आयोजना गर्ने समारोह हुनेछ।
असोज ८ गते प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।
उनी असोज ९ गते न्युयोर्कबाट दोहा प्रस्थान हुनेछन्। १० गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ।












