काठमाडौं । आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएकामा प्रधानमन्त्री सुशीला कार्कीले खुसी व्यक्त गरेकी छन्।
उनले आज अर्को महत्त्वपूर्ण कोसेढुंगा पार गर्न सफल भएको उल्लेख गर्दै उम्मेदवारी दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति आभार प्रकट गरेकी छन्।
‘आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज हामीले अर्को महत्त्वपूर्ण कोसेढुंगा पार गर्न सफल भएका छौँ’, प्रधानमन्त्री कार्कीले मंगलबार राति वक्तव्य जारी गर्दै भनेकी छन्, ‘निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा म हार्दिक आभार व्यक्त गर्दछु।’
प्रधानमन्त्री कार्कीले उम्मेदवारी दर्तासँगै मुलुकबाट अन्योल र अनिश्चितता अन्त्य भएको दाबी गर्दै सिंगो देश निर्वाचनको महाकुम्भमा होमिएको उल्लेख गरेकी छन्।
‘निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको छ। अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ। सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ’ उनले भनेकी छन्, ‘१६५ पदका लागि ३,४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण हो। नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको छ।’
यस्तो छ प्रधानमन्त्रीको पूरा वक्तव्य-
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज हामीले अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गर्न सफल भएका छौँ।
निर्धारित समयतालिकाभित्र उत्साहजनक रुपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा म हार्दिक आभार व्यक्त गर्दछु।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरुलाई पुनः स्मरण गराउँछु। सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन। हाम्रा सबै सुरक्षा संयन्त्रहरु उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन्।
१६५ पदका लागि ३,४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण हो। नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको छ।
निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको छ। अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ। सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ।
निर्वाचन कार्यतालिकाबमोजिम अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु।
साथै, यो लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्दछु।
अन्त्यमा, दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस निर्वाचनमा सक्रिय र संयमसाथ सहभागी हुन हार्दिक अपिल गर्दछु।
धन्यवाद।
२०८२ माघ ६ गते मंगलबार












