काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव इजरायलस्थित सैनिक अस्पतालमा डिएनए परीक्षणका लागि राखिएको छ। उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीमार्फत इजरायली सेनालाई हस्तान्तरण गरिएको हो।
इजरायलस्थित नेपाली दूतावासका अनुसार अब शवको डिएनए परीक्षण र अन्य औपचारिक प्रक्रिया पूरा भएपछि मात्रै नेपाल पठाउने तयारी सुरु हुनेछ।
नेपालका राजदूत धनप्रसाद पण्डितले भने,“हमासले विपिन जोशीको भनेर बुझाएको शवको डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुन्छ। रिपोर्ट आउन करिब चार घण्टा लाग्ने भनिएको छ। त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ।”
उनका अनुसार इजरायल सरकारले नै विपिनको शवलाई कफिनमा बन्द गरी नेपाल पठाउने व्यवस्था गर्नेछ। तर, त्यसका लागि अझै केही दिन समय लाग्ने अनुमान गरिएको छ।
कञ्चनपुरका विपिन जोशी अध्ययनका सिलसिलामा इजरायल पुगेका थिए। गत अक्टोबर ७, २०२३ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको भीषण आक्रमणको क्रममा उनी अन्य नेपाली विद्यार्थीहरूसँगै फसेका थिए।
त्यो आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई हमासका लडाकूहरूले बन्धक बनाएर गाजामा लगेका थिए। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी थिएन।
इजरायल–हमासबीचको युद्धविरामपछिको मानवीय सहायतामूलक चरणमा हमासले मंगलबार बिहान विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। त्यसपछि इजरायली अधिकारीहरूले उनको मृत्युको औपचारिक पुष्टि गरेका थिए।












