काठमाडौं । ई–सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
‘एटी अलर्ट’ मार्फत फिसिङ लिङ्क पठाइ ४ हजार ग्राहकको एक करोड भन्दा बढी रकम चोरी गरेको आरोपमा कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा पक्राउ परेका हुन् ।
उनलाई मंगलबार कालिमाटीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार राहुलले विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत ‘द अलर्ट, एटी अलर्ट’ जस्ता फिसिङ लिङ्क पठाई तपाईंको खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाइको लागि लिंक खोल्न लगाएर इसेवामा अनाधिकृत पहुँच पुर्याउने गरेका थिए।
उक्त रकम उनले पशुपति ग्लोबल इनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको छ ।