काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुनसहित काठमाडौंबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ रहेका छन् । पक्राउ परेका गुरुङको घरबाट ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ । प्रहरीले उनको कोठाबाट सोनाम गुरुङ नाममा रहेको नेपाली नागरिकतासमेत बरामद गरेको छ ।
पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीकै व्यक्ति रहेको सीआईबीले जनाएको छ । तर कपनबाट अहिले बरामद भएको सुन यसअघिको ६० किलो प्रकरण र विद्युतीय चुरोट (भेप) मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ ।
सीआईबीले अहिले भेपमार्फत तस्करी भएको नौ किलो सुन र राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ ।